टोकियो – जापानमा अनलाइन क्यासिनो सञ्चालन र प्रयोग विरुद्धको कानुनी कारबाहीले सन् २०२५ मा नयाँ रेकर्ड कायम गरेको छ । नेशनल पुलिस एजेन्सीले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार, गत वर्ष प्रहरीले ३१७ जनालाई अनलाइन क्यासिनो सम्बन्धी कसुरमा कानुनी दायरामा ल्याएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३८ ले बढी हो ।
कारबाहीमा परेकामध्ये ६९.७ प्रतिशत अर्थात् २२१ जना ‘अनलाइन-बेस्ड’ क्यासिनोसँग सम्बन्धित छन् । यस्ता प्रयोगकर्ताहरूले कुनै निश्चित स्थानमा नगई आफ्नै स्मार्टफोन वा अन्य व्यक्तिगत उपकरणहरू मार्फत क्यासिनो साइटहरूमा पहुँच बनाउने गरेका छन् । बाँकी ९६ जना भने ‘अन-साइट’ क्यासिनो (निश्चित स्थानमा गएर कम्प्युटर मार्फत खेलिने) सँग सम्बन्धित रहेका छन् ।
प्रहरीले व्यक्तिगत उपकरणबाट जुवा खेल्ने प्रवृत्तिको जोखिमबारे चेतावनी दिएको छ । समय र स्थानको बन्देज नहुने भएकाले यस्ता साइटहरूमा सजिलै पहुँच पुग्ने र यसले गर्दा ठूलो रकमको बाजी लगाउने तथा गम्भीर जुवाको लत लाग्ने खतरा उच्च हुने प्रहरीको ठहर छ ।
अनलाइन-बेस्ड क्यासिनो प्रकरणमा प्रहरीले १९६ जना ग्राहकहरूलाई पक्राउ गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५४ ले बढी हो । यसैगरी, सञ्चालन र व्यवस्थापनमा संलग्न २५ जनालाई पनि कारबाही गरिएको छ । सञ्चालकको श्रेणीमा जुवाको रकम लेनदेन सहज बनाइदिने ‘पेमेन्ट प्रोसेसिङ’ कम्पनी र विदेशी क्यासिनो साइटहरूको विज्ञापन गरी कमिसन बुझ्ने ‘एफिलिएट्स’हरू रहेका छन् ।
अनलाइन-बेस्ड क्यासिनोसँग सम्बन्धित घटनाहरूको सङ्ख्या गत वर्ष १०४ ले बढेर १५० पुगेको छ । अनलाइन क्यासिनो खेल्नु अवैध हो भन्ने कुरामा सर्वसाधारणको सचेतना बढेका कारण यसमा संलग्नहरूले आफैं प्रहरीमा आत्मसमर्पण गर्ने वा चिनजानका व्यक्तिहरू विरुद्ध अज्ञात उजुरी दिने क्रम बढेको एनपीएको बुझाइ छ ।








