Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – जापानको उत्तरपूर्वी क्षेत्रमा पर्ने इवाते प्रान्तको एक शहरमा भीषण डढेलो फैलिएपछि १ हजारभन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । बुधबार ओत्सुची शहरका दुई छुट्टाछुट्टै स्थानमा भीषण डढेलो लागेपछि स्थानीय प्रशासनले आगो नियन्त्रणका लागि जापानी सेना (सेल्फ-डिफेन्स फोर्स) को सहयोग मागेको छ ।

प्रहरी तथा स्थानीय अधिकारीहरूका अनुसार बुधबार दिउँसो करिब १:५० बजे ओत्सुचीको कोजुची जिल्लाबाट पहिलो डढेलो सुरु भएको थियो । सुक्खा हावाका कारण उक्त डढेलो तीव्र रूपमा फैलँदै नजिकैका भवनहरू र वन क्षेत्रसम्म पुगेको थियो । सोही समयमा, पहिलो घटनास्थलबाट करिब १० किलोमिटर टाढा रहेको किरिकिरी जिल्लाको पहाडी क्षेत्रमा अर्को डढेलो सल्किएको थियो ।

दोस्रो डढेलो मानव वस्ती नजिक फैलन थालेपछि नगर प्रशासनले उच्च सतर्कता अपनाउँदै ५६६ घरधुरीका कुल १,०७७ जना बासिन्दालाई तत्काल घर छाडेर सुरक्षित स्थानमा जान निर्देशन दिएको छ । आगलागीबाट हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले जनाएका छन् ।

स्थानीय मौसम विज्ञान केन्द्रले ओत्सुची र आसपासका क्षेत्रमा सुक्खा हावा र तीव्र गतिको वायु चल्ने भन्दै यसअघि नै चेतावनी जारी गरेको थियो । तीव्र हावाका कारण आगो निभाउन अग्नि नियन्त्रकहरूलाई कठिन भइरहेको बताइएको छ ।

आफ्नो परिवारसहित स्थानीय विद्यालयको जिम हलमा शरण लिन पुगेकी एक ६१ वर्षीया महिलाले भनिन्, ‘एउटै शहरका दुई फरक ठाउँमा यसरी डढेलो लागेको देख्दा म निकै अचम्मित र त्रसित छु । आफ्नो घरको अवस्था कस्तो होला भन्ने चिन्ताले सताइरहेको छ ।’

तपाईको प्रतिक्रिया