काठमाडौँ – विश्वभर साइबर सुरक्षामा चुनौती बढिरहेका बेला उत्तर कोरियासँग सम्बन्धित मानिएको एक ह्याकिङ समूहले करिब ३० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको आशङ्का गरिएको छ। प्रभावित पक्षका अनुसार यो घटना यस वर्षकै ठूला क्रिप्टो चोरीमध्ये एक हो।
डिजिटल प्लेटफर्म केल्पडीएओको भल्टमा भएको आक्रमणमा ह्याकरहरूले ब्लकचेन सर्भरमा अनधिकृत पहुँच बनाएर इथेरियमसँग सम्बन्धित टोकनहरू निकाल्न सफल भएका थिए। प्रविधि कम्पनी लेयरजिरोले करिब २९ करोड डलर बराबरको क्षति भएको पुष्टि गरेको छ। प्रारम्भिक अनुसन्धानले यो आक्रमण राज्य–समर्थित समूहबाट भएको देखाएको छ। जसमा उत्तर कोरियाको ‘लाजरस’ समूह संलग्न हुन सक्ने अनुमान गरिएको छ। यद्यपि अन्य प्रयोगकर्ताको सम्पत्तिमा असर नपरेको कम्पनीले जनाएको छ।
विशेषज्ञहरूका अनुसार यस्तो घटनाले विकेन्द्रीकृत वित्त प्रणालीप्रति विश्वास घटाउन सक्छ र नयाँ प्रयोगकर्तामा डर सिर्जना गर्न सक्छ। लगातार भइरहेका यस्ता साइबर आक्रमणले डिजिटल अर्थतन्त्रको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।








