काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता सुदन किरातीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले करिब पाँच महिनाको पार्टीसँगको सम्बन्ध अन्त्य भएको जानकारी गराएका हुन्।
किरातीले पार्टीमा रहँदा साथ र सहयोग गर्ने नेताहरू, सहकर्मी र कर्मचारीप्रति आभार व्यक्त गरेका छन्। उनले छोटो समय भए पनि त्यहाँको अनुभवलाई महत्वपूर्ण सिकाइका रूपमा लिएको बताएका छन्। उनले पार्टीसँगको औपचारिक सम्बन्ध टुटे पनि व्यक्तिगत रूपमा आपसी सम्मान र सम्बन्ध कायम रहने विश्वास व्यक्त गरेका छन्।
यद्यपि, पार्टी छाडे पनि राजनीति नछोड्ने स्पष्ट पार्दै उनले देश र जनताको हितमा काम गरिरहने प्रतिबद्धता जनाएका छन्। जनताको भरोसा र सहिदको सपनालाई आधार मानेर आफ्नो यात्रा अघि बढाउने उनले उल्लेख गरेका छन्।








