टोकियो – जापानको उत्तर-पूर्वी प्रान्त इवातेमा एक महिलाको शव फेला परेको छ । सोही स्थान नजिकै एक प्रहरी अधिकारीमाथि भालुले आक्रमण गरेपछि गरिएको खोजीका क्रममा उक्त शव फेला परेको हो ।
जापानको वातावरण मन्त्रालयका अनुसार यदि यो भालुको आक्रमणबाटै भएको मृत्यु पुष्टि भएमा, यो सन् २०२६ मा जापानमा भालुको आक्रमणबाट भएको पहिलो मृत्यु हुनेछ । यसअघि सन् २०२५ मा जापानभर भालुको आक्रमणबाट १३ जनाको ज्यान गएको थियो, जसमध्ये ५ जनाको मृत्यु इवाते प्रान्तमा मात्रै भएको थियो ।
शिवा क्षेत्रको एक खोला नजिकै मङ्गलबार बिहान ५६ वर्षीय एक प्रहरी अधिकारी हराइरहेका व्यक्तिको खोजीमा खटिएका थिए । सोही क्रममा अचानक भालुले उनीमाथि आक्रमण गरेको थियो । आक्रमणबाट प्रहरीको अनुहार र हातमा चोट लागेको छ । घाइते प्रहरीको अवस्था स्थिर रहेको बताइएको छ ।
प्रहरीमाथि आक्रमण भएलगत्तै खोजी टोलीसँगै रहेका एक शिकारीले उक्त १.३ मिटर लामो वयस्क पोथी भालुलाई गोली हानी मारेका थिए । त्यसको केही समयपछि घटनास्थलबाट थोरै दुरीमा ती महिलाको शव फेला परेको हो ।
सोमबार दिउँसो एक सडकमा इन्जिन चलिरहेको अवस्थामा एउटा बेवारिसे कार फेला परेपछि प्रहरीले त्यसको चालकको खोजी गरिरहेको थियो । मृत भेटिएकी महिला सोही कारकी धनी हुनसक्ने प्रहरीको अनुमान छ ।








