टोकियो – जापानमा सोमबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि सरकारले थप ठूलो भूकम्प जान सक्ने भन्दै ‘फलो-अप’ भूकम्पको चेतावनी जारी गरेको छ । जापान मौसम विज्ञान एजेन्सी र मन्त्रिपरिषद् कार्यालयले होक्काइडोदेखि चिबा प्रान्तसम्मका १८२ वटा नगरपालिकाहरूमा विशेष सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।
उत्तरी र उत्तर-पूर्वी जापानमा शक्तिशाली धक्का महसुस गरिएको एक हप्तासम्म अर्को ठूलो भूकम्पको सम्भावना सामान्यभन्दा बढी रहने विज्ञहरूले बताएका छन् । यसैलाई मध्यनजर गर्दै सरकारले आगामी अप्रिल २७ तारिख बेलुका ५ बजेसम्म नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा जान सक्ने गरी तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
सुरक्षाका लागि सरकारले जारी गरेका विशेष निर्देशनहरू:-
- तत्काल प्रस्थानको तयारी: राती सुत्दा तत्काल भाग्न मिल्ने लुगा (कपडा) लगाएर सुत्ने र ओछ्यानको छेउमै जुत्ता वा चप्पल तयारी अवस्थामा राख्ने ।
- आपतकालीन झोला: आफ्नो परिचयपत्र, आवश्यक नगद र आपतकालीन सामग्री भरिएको झोला (Go-bag) सधैँ साथमा राख्ने ।
- घरभित्रको सुरक्षा: घरका दराज वा अन्य गरुङ्गा फर्निचरहरू नढल्ने गरी फिक्स गरिएको सुनिश्चित गर्ने ।
- खाद्यान्न र मार्गको पहिचान: भण्डारण गरिएको आपतकालीन खाद्यान्नको म्याद जाँच गर्ने र नजिकैको सुरक्षित आश्रयस्थल (Evacuation site) जाने मार्गबारे पुन: स्पष्ट हुने ।
- सूचनाको पहुँच: आधिकारिक सूचनाहरू प्राप्त गर्न आफू बस्ने ठाउँमा रेडियोको व्यवस्था गर्ने ।
- जोखिमयुक्त संरचना: पहिलो भूकम्पले क्षति पुर्याएका भवनहरू, चर्केका पर्खालहरू र अस्थिर ढिस्कोहरूबाट टाढै रहने ।
- न्यानो कपडा: मौसम अनुसार आफूलाई न्यानो राख्न पर्याप्त कपडाहरू तयारी अवस्थामा राख्ने ।
सरकारी अधिकारीहरूका अनुसार ‘हक्काइडो-सानरिकु अपतटीय’ क्षेत्रमा ठूलो भूकम्पपछि अर्को शक्तिशाली धक्का आउने इतिहास रहेकाले यस पटकको चेतावनीलाई गम्भीरतापूर्वक लिन आग्रह गरिएको छ । ‘कुनै पनि बेला अर्को धक्का आउन सक्छ, त्यसैले सावधानी नै बचावटको उत्तम उपाय हो,’ जेएमएका अधिकारीले पत्रकार सम्मेलनमा भने ।








