Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – जापानमा यस महिनादेखि लागू गरिएको नयाँ साइकल ट्राफिक नियमपछि ठगीका घटना बढ्न थालेपछि प्रहरीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । नक्कली प्रहरी बनेर सडकमा साइकल चालकलाई रोक्दै जरिवाना असुल्ने प्रयास भएका घटनाहरू सार्वजनिक भएका छन् ।

जापानमा हालै “ब्लु टिकट” प्रणाली लागू गरिएको छ, जसअन्तर्गत ट्राफिक नियम उल्लंघन गर्ने साइकल चालकलाई जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ । रातो बत्ती काट्ने, मोबाइल फोन चलाउँदै साइकल चलाउने, छाता ओढेर साइकल चलाउने वा गलत दिशाबाट साइकल चलाउने जस्ता गतिविधिमा १२ हजार येनसम्म जरिवाना हुन सक्ने प्रावधान छ ।

तर नयाँ नियमबारे जनचेतना अझै कम रहेको अवस्थालाई अवसर बनाउँदै ठगी समूह सक्रिय भएको प्रहरीको भनाइ छ । प्रणाली लागू भएको दुई सातामै कम्तीमा चार वटा ठगीका घटना सार्वजनिक भएका छन् ।

पहिलो घटना अप्रिल ४ मा हिरोशिमा प्रान्तको कुरे क्षेत्रमा भएको थियो । एक माध्यमिक विद्यालयका विद्यार्थीलाई एक व्यक्तिले रोकेर मोड्दा हात संकेत प्रयोग नगरेको भन्दै २ हजार येन असुलेको बताइएको छ ।

त्यसपछि अप्रिल १२ मा तोचिगी प्रान्तको ओयामा क्षेत्रमा साइकल चढिरहेका ४३ वर्षीय पुरुषलाई कारमा आएका व्यक्तिले रातो बत्ती काटेको आरोप लगाउँदै १५ हजार येन तिराएका थिए । पछि उनले प्रहरीसँग गुनासो गरेपछि आफू ठगिएको थाहा पाएका थिए ।

अप्रिल १३ मा होक्काइडोको मुरोरान क्षेत्रमा दुई व्यक्तिले विद्यालय जाँदै गरेका एक विद्यार्थीलाई रोक्दै हात संकेत नदिएको भन्दै ५ हजार येन मागेका थिए । तर विद्यार्थीले प्रहरी परिचयपत्र देखाउन माग गरेपछि ती व्यक्ति फरार भएका थिए ।

यस्तै अप्रिल १४ मा कागोशिमा सहरमा दुई जना सवार कारले एक उच्च माध्यमिक तहका विद्यार्थीलाई रोकेर ६ हजार येन मागेका थिए । बैंकमार्फत तिरे थप ब्याज लाग्ने भन्दै दबाब दिएपछि उनले नगद बुझाएका थिए ।

प्रहरीका अनुसार वास्तविक प्रहरीले सडकमै जरिवाना रकम असुल्दैन । ब्लु टिकटमार्फत जरिवाना भए बैंक वा हुलाक कार्यालयमार्फत तिर्नुपर्ने नियम रहेको स्पष्ट गरिएको छ ।

साथै, वास्तविक ट्राफिक प्रहरीले सामान्यतया वर्दी लगाउने र आवश्यक परिचयपत्र देखाउने भएकाले सडकमा नगद माग्ने व्यक्तिबाट सावधान रहन आग्रह गरिएको छ ।

विशेषज्ञहरूका अनुसार नयाँ नियमबारे जनचेतना बढ्दै जाँदा यस्ता ठगी घट्न सक्छन् । तर हालका लागि साइकल चालकहरूले अनधिकृत रूपमा जरिवाना माग्ने व्यक्तिबाट सावधान रहनुपर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया