-
नेपाल-जापान मित्रताको ७० वर्ष : इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेल र सम्राट नारुहितोबीच ऐतिहासिक संवाद
टोकियो – जापानको चारदिने भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितो बीच टोकियोस्थित इम्पेरियल प्यालेसमा शिष्टाचार भेटवार्ता भएको छ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल त्यहाँ पुगेका हुन् ।
भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापानले पुर्याएको योगदानको उच्च प्रशंसा गरे । उनले मानव संशाधन, स्वास्थ्य, कृषि, पूर्वाधार र वातावरण संरक्षण जस्ता क्षेत्रमा जापानको सहयोगबाट नेपालीहरूले ठूलो लाभ प्राप्त गरेको बताए । दुवै देश बुद्धको शिक्षा र आदर्शबाट प्रेरित रहेको उल्लेख गर्दै उनले भने, ‘बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गरेको छ ।’
राष्ट्रपति पौडेलले ७०औँ वार्षिकोत्सवलाई दुई देशबीचको मित्रताको एउटा ऐतिहासिक कोशेढुङ्गाका रूपमा व्याख्या गरे । उनले सन् १९८७ मा राजकुमारका रूपमा नारुहितोले गरेको नेपाल भ्रमणको स्मरण गर्दै त्यसले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाएको बताए । सो अवसरमा राष्ट्रपति पौडेलले आफूलाई सन् २०२० मा ‘ग्रान्ड कर्डन अफ दि अर्डर अफ दि राइजिङ सन’ बाट विभूषित गरेकोमा जापान सरकारप्रति आभार प्रकट गर्दै सम्राट र साम्राज्ञीलाई नेपाल भ्रमणको निम्तोसमेत दिए ।
जवाफमा सम्राट नारुहितोले नेपालसँगको कूटनीतिक सम्बन्धको वार्षिकोत्सवलाई हर्षोल्लासका साथ मनाउनुपर्नेमा जोड दिए । उनले सन् १९८७ को आफ्नो नेपाल भ्रमणको सम्झना अझै ताजा रहेको बताए । विशेष गरी पोखराको सराङ्कोट पदयात्राका क्रममा नेपाली महिलाहरूले पानीका लागि गाग्री थापेको दृश्यले आफूलाई पानीका विषयमा अध्ययन गर्ने प्रेरणा मिलेको सन्दर्भ उनले उल्लेख गरे ।
सम्राट नारुहितोले प्राकृतिक विपद्का बेला दुवै देशले एकअर्कालाई सहयोग गर्दै आएको स्मरण गर्दै नेपालको विकासमा जापानले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए । राष्ट्रपति पौडेलले नेपाल–जापान सम्बन्धमा पुर्याएको योगदानको कदर गर्दै जापानले उनको उच्च सम्मान गरेको पनि सम्राटले बताए ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले यसअघि जापानी व्यापारिक समुदायसँग छलफल गर्नुका साथै परराष्ट्र राज्यमन्त्री होरी इवाओसँग भेटवार्ता गरेका थिए । उनले टोकियोस्थित नेपाली दूतावासको अवलोकन समेत गरे । राष्ट्रपति पौडेलले आजै जापानका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनी बुधबार स्वदेश फर्कनेछन् ।








