
टोकियो-फुकुशिमा आणविक दुर्घटनापछि करिब १५ वर्षसम्म थलिएको जापानको आणविक ऊर्जातर्फको पुनरागमनमा एक निर्णायक मोड आएको छ । निइगाता क्षेत्रले सोमबार विश्वकै सबैभन्दा ठूलो आणविक विद्युत् केन्द्र पुनः सञ्चालन गर्न अन्तिम स्वीकृति दिएसँगै जापानले आणविक ऊर्जा प्रयोग विस्तारतर्फ ठोस कदम चालेको हो ।
टोकियोबाट करिब २२० किलोमिटर उत्तर–पश्चिममा रहेको काशिवाजाकी–कारिवा आणविक विद्युत् केन्द्र २०११ को भूकम्प र सुनामीपछि बन्द गरिएका ५४ रिएक्टरमध्ये एक हो । सोही दुर्घटनाले फुकुशिमा दाइची आणविक केन्द्रलाई गम्भीर क्षति पुर्याएको थियो, जसलाई चेर्नोबिलपछि विश्वकै सबैभन्दा ठूलो आणविक दुर्घटनाका रूपमा लिइन्छ ।
दुर्घटनापछि जापानले सञ्चालनयोग्य ३३ मध्ये हालसम्म १४ रिएक्टर मात्रै पुनः सञ्चालनमा ल्याएको छ । आयातित जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने उद्देश्यसहित सरकारले आणविक ऊर्जा पुनः प्रयोग गर्ने नीति अघि सारेको हो । काशिवाजाकी–कारिवा केन्द्र टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) (उही कम्पनी जसले फुकुशिमा केन्द्र सञ्चालन गरेको थियो) द्वारा सञ्चालन हुने पहिलो केन्द्र बन्नेछ ।
सोमबार निइगाता प्रान्तीय सभाले गभर्नर हिदेयो हानाजुमीमाथि विश्वासको मत प्राप्त गरेका छन् । गत महिना केन्द्र पुनः सञ्चालनको समर्थन जनाएका हानाजुमीले विश्वासको मत प्राप्त गरेसँगै केन्द्र सञ्चालनको बाटो खुलेको हो ।

मतदानअघि करिब ३०० जना प्रदर्शनकारी (अधिकांश वृद्ध) ‘नो न्युक्स’, ‘काशिवाजाकी–कारिवा पुनः सञ्चालनको विरोध गर्छौं’ र ‘फुकुशिमालाई समर्थन गर’ लेखिएका ब्यानर बोकेर ६ डिग्री सेल्सियसको चिसोमा प्रान्तीय सभा भवन अगाडि भेला भएका थिए ।
“के टेप्को काशिवाजाकी–कारिवा सञ्चालन गर्न योग्य छ ?” एक प्रदर्शनकारीले माइकमा सोध्दा भीडले एकस्वरमा “होइन !” भनेर जवाफ दिएका थिए ।
सार्वजनिक प्रसारक एनएचकेका अनुसार टेप्कोले आगामी जनवरी २० मा कुल ८,२१२ मेगावाट क्षमताको केन्द्रका सातमध्ये पहिलो रिएक्टर पुनः सञ्चालन गर्ने तयारी गरिरहेको छ । टेप्कोका प्रवक्ता मसाकात्सु ताकाताले “यस्ता दुर्घटना दोहोरिन नदिने र निइगाताका बासिन्दाले फेरि त्यस्तो पीडा भोग्न नपरोस् भन्ने प्रतिबद्धतामा हामी दृढ छौं” भने पनि समयबारे टिप्पणी गर्न अस्वीकार गरे ।
स्थानीय समर्थन जुटाउन टेप्कोले आगामी १० वर्षमा निइगाता प्रान्तमा १०० अर्ब येन लगानी गर्ने वाचा गरेको छ । तर पनि स्थानीय बासिन्दाको आशंका मेटिएको छैन । गत अक्टोबरमा प्रान्तले गरेको सर्वेक्षणमा ६० प्रतिशत बासिन्दाले पुनः सञ्चालनका लागि आवश्यक अवस्था पूरा नभएको बताएका थिए भने झन्डै ७० प्रतिशतले टेप्कोको सञ्चालन क्षमताप्रति चिन्ता व्यक्त गरेका थिए ।
५२ वर्षीया आयाको ओगा २०११ मा फुकुशिमा आसपासको क्षेत्रबाट विस्थापित १ लाख ६० हजार मानिसमध्ये एक हुन् । उनको पुरानो घर २० किलोमिटरको विकिरण बहिष्कृत क्षेत्रमा पर्थ्यो । अहिले निइगातामा बस्दै आएकी किसान तथा आणविक ऊर्जा विरोधी अभियन्ता ओगाले यसलाई आफ्नै ढोकामा नयाँ खतरा देखेकी छन् ।
“हामीले आणविक दुर्घटनाको जोखिम प्रत्यक्ष रूपमा भोगेका छौं, त्यसलाई हल्का रूपमा लिन सकिँदैन” उनले भनिन् । फुकुशिमापछि आफू अझै पनि मानसिक आघातजस्ता समस्यासँग जुधिरहेको उनले बताइन् ।
गभर्नर हानाजुमी स्वयं पनि दीर्घकालमा जापानले आणविक ऊर्जामाथिको निर्भरता घटाउनुपर्ने धारणा राख्छन् । “मानिसमा डर पैदा गर्ने ऊर्जास्रोतमा भर पर्नु नपर्ने युग म देख्न चाहन्छु,” उनले भने ।
ऊर्जा सुरक्षा मजबुत बनाउने प्रयास
सोमबारको निर्णयलाई टेप्कोले पहिलो रिएक्टर पुनः सञ्चालन गर्न पार गर्नुपर्ने अन्तिम अवरोधका रूपमा हेरिएको छ । व्यापार मन्त्रालयका अनुसार सो एक रिएक्टरले मात्र टोकियो क्षेत्रको विद्युत् आपूर्तिमा २ प्रतिशतले वृद्धि गर्न सक्छ ।
दुई महिनाअघि पदभार सम्हालेकी प्रधानमन्त्री सानाए ताकाइचीले ऊर्जा सुरक्षा मजबुत बनाउन र आयातित जीवाश्म इन्धनको बढ्दो लागत नियन्त्रण गर्न आणविक केन्द्र पुनः सञ्चालनको समर्थन गरेकी छन् । हाल जापानको कुल विद्युत् उत्पादनको ६० देखि ७० प्रतिशत आयातित इन्धनबाट आउँछ।
जापानले गत वर्ष मात्र तरल प्राकृतिक ग्यास र कोइलाको आयातमा १०.७ ट्रिलियन येन खर्च गरेको थियो, जुन कुल आयात खर्चको करिब दशौं भाग हो । जनसंख्या घट्दो क्रममा भए पनि एआई डेटा सेन्टरजस्ता उच्च विद्युत् खपत हुने उद्योग बढ्दै जाँदा आगामी दशकमा ऊर्जा माग बढ्ने अनुमान गरिएको छ ।
त्यस आवश्यकतासँगै कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता पूरा गर्न सरकारले २०४० सम्म विद्युत् उत्पादनमा आणविक ऊर्जाको हिस्सा दोब्बर पारेर २० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । वुड म्याकेन्जी परामर्श संस्थाका एसिया–प्रशान्त उपाध्यक्ष जोशुआ न्गुका अनुसार काशिवाजाकी–कारिवा पुनः सञ्चालनप्रति जनस्वीकृति मिल्नु ती लक्ष्यतर्फ “अत्यन्त महत्वपूर्ण कोशेढुंगा” हुनेछ ।
यसैबीच, गत जुलाईमा कान्साइ इलेक्ट्रिक पावरले पश्चिमी जापानमा नयाँ रिएक्टर निर्माणका लागि सर्वेक्षण सुरु गर्ने घोषणा गरेको थियो ।
तर सोमबार प्रान्तीय सभा बाहिर ‘फुकुशिमाका पाठ कहिल्यै नबिर्सौं’ भन्दै नाराबाजीमा सहभागी ओगाका लागि भने यो आणविक पुनरुत्थान अझै पनि त्रासदीको सम्झना हो ।
“फुकुशिमा दुर्घटनाकी पीडितका रूपमा म चाहन्छु जापानमा होस् वा संसारको कुनै पनि कुनामा, कसैले फेरि कहिल्यै यस्तो आणविक दुर्घटनाको पीडा भोग्न नपरोस्,” उनले भनिन् ।
***








