काठमाडौं – देशमा बढ्दो राजनीतिक असन्तुष्टि र आक्रोशका बीच एक अप्रत्याशित घटनाक्रमले राजधानी काठमाडौंलाई तरंगित बनाएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रोशित प्रदर्शनकारीहरूले कुटपिट गरेका छन् । दिउँसो उग्र प्रदर्शनमा उत्रिएका ‘जेनजी’ युवाहरूको समूहले देउवा दम्पतीमाथि भौतिक आक्रमण गरेको हो ।
पछिल्लो समय सामाजिक सञ्जाल र सडकमा सरकार तथा प्रमुख राजनीतिक दलहरूप्रति तीव्र असन्तुष्टि पोखिरहेका युवाहरूको यो प्रदर्शनले हिंसात्मक रूप लिएको छ । प्रदर्शनकारी युवाहरूले राजधानीका प्रमुख सरकारी भवनहरूलाई निशाना बनाएका छन् ।
सिंहदरबार र संसद् भवनलगायतका शीर्ष नेताहरूको निवासमा समेत आगजनी भएको खबर छ । यसैगरी, विभिन्न राजनीतिक दलका कार्यालय र प्रहरी प्रभागहरूमाथि पनि निरन्तर तोडफोड र आगजनी भइरहेको प्रहरीले जनाएको छ ।
देशका प्रमुख शहरहरूमा पनि विरोध प्रदर्शनहरू चर्किएका छन् । प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्नुका साथै सार्वजनिक तथा निजी सम्पत्तिमाथि क्षति पुर्याइरहेका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच कयौं स्थानमा झडप भएका छन् ।








