Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जेन-जी’ आन्दोलनमा सरकारले गरेको निर्मम दमनको चर्को भर्त्सना गर्दै वर्तमान नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको वैधता समाप्त भएको ठहर गरेको छ । रास्वपाले तत्काल प्रधानमन्त्रीको राजीनामा र ताजा जनादेशका लागि अर्ली इलेक्सनको माग गरेको हो । 

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको उपेक्षा, क्रुर राजनीतिक अभ्यास तथा सामाजिक सञ्जाल बन्द गरी अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिएको भन्दै युवा पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको ‘बर्बर दमन’ प्रति गहिरो निन्दा व्यक्त गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निहत्था नवयुवाहरूले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दै चेतावनी दिन्छौं, आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ ।’

रास्वपाले वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेकाले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्नेमा जोड दिएको छ । साथै, घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न पनि माग गरिएको छ । ‘नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेश (अर्ली इलेक्सन) को माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाले सरकारबाट ‘हत्या गरिएका जेनजी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको निःशुल्क उपचारको व्यवस्था गर्न’ समेत माग गरेको छ । आगामी रणनीतिको खाका तयार पार्न पार्टी सचिवालय बैठक जारी रहेको पनि रास्वपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया