समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनावश्यक रूपमा उठाइएको टिप्पणी गरेका छन्। शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा उनले सो विषय महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल हुनै नसक्ने स्पष्ट पारे।
ओलीले भण्डारीको पार्टी सदस्यताको विषय कमिटीगत छलफलमा जाने बताउँदै, विधान महाधिवेशनमा भने विधानसँग सम्बन्धित मुद्दामात्र उठ्ने बताए। उनले पार्टीभित्र केही कुरा अनावश्यक रूपमा अघि बढाइने गरेको उल्लेख गर्दै, ती विषयलाई महाधिवेशनमा ल्याउन मिल्दैन भने। उनका अनुसार, “विधान महाधिवेशनमा विधानबारे मात्रै छलफल हुन्छ। अन्य विषयहरू स्थायी कमिटी वा केन्द्रीय कमिटीमा निर्णय गरिन्छ।”
महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् भने महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन दिने कार्यक्रम छ। ओलीले सम्पूर्ण छलफल यही कार्यसूचीमै सीमित हुने बताए।








