काठमाडौं – आगामी कात्तिक १७ गते रुपन्देही-३ मा हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेको छ । प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनपछि रिक्त यस क्षेत्रमा आफ्नो पकड जमाउन प्रमुख दलदेखि साना दल र स्वतन्त्र उम्मेदवारसम्म आन्तरिक तयारीलाई तीव्र पारेका छन् । विशेषगरी नयाँ र साना दलहरूका साथै स्वतन्त्र उम्मेदवारहरू यो उपनिर्वाचनलाई भावी आम निर्वाचनको मानकका रूपमा हेर्दै सशक्त रूपमा अघि बढेका हुन् ।
उपनिर्वाचनको माहोलले ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई भन्दा साना दलहरूलाई बढी छोएको देखिन्छ । साना दलहरूले धमाधम उम्मेदवार सिफारिस र घोषणा गरिरहेका बेला ठूला दलहरू भने अझै अलमलमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्युरोलोजिस्ट डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गरेको छ । थापा विवादमा मुछिए पनि रास्वपाले उनलाई नै अघि सारेको छ । यसअघि नागरिक उन्मुक्ति पार्टीको समानुपातिक सूचीमा रहेका थापाले उपनिर्वाचनको मुखमा रास्वपा प्रवेश गरेका हुन् ।
यसैगरी, २०७९ को चुनावबाट उदाएको जनमत पार्टीले हालै जनमतमा प्रवेश गरेका धनीराम चौधरीलाई रुपन्देही-३ का लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । चौधरीले नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता नभएको कारण पार्टी परिवर्तन गरी उम्मेदवार बनेको बताएका छन् । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पार्टी महासचिव घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको छ । भुसाल २०७४ सालमा यही क्षेत्रबाट नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक महिनाअघि नै निवर्तमान सांसद दीपक बोहराका छोराद्वय गौरव र प्रज्वलसहित ६ जनाको नाम सिफारिस गरेको थियो । अहिले गौरव बोहरा निर्वाचनमा सक्रिय भई कार्यकर्ता भेटघाटमा छन् । दलमा मनमुटावको जोखिमलाई कम गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सबै आकांक्षीलाई एकजुट गराएर एकअर्कालाई सघाउने सहमति गराएका छन् ।
दल बदलको शृंखला
उपनिर्वाचनको मुखमा रुपन्देहीमा दल बदलको शृंखला पनि तीव्र देखिएको छ । नागरिक उन्मुक्ति पार्टीबाट २०७९ को निर्वाचनमा रुपन्देही-१ बाट उम्मेदवार बनेका धनीराम चौधरी अहिले जनमत पार्टीबाट रुपन्देही-३ का उम्मेदवार बनेका छन् । नागरिक उन्मुक्ति पार्टीभित्र संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको शक्ति संघर्षका कारण यो दल उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएको छैन । रेशम चौधरी पक्षले भने स्वतन्त्र उम्मेदवारका रूपमा डा. उमाशङ्कर चौधरीलाई उठाउने तयारी गरेको छ ।
लोसपा नेपालकी नेतृ तथा लुम्बिनी प्रदेशकी पूर्व वन तथा वातावरणमन्त्री कल्पना पाण्डेय आइतबार रास्वपामा प्रवेश गरेकी छन् । यस्तै, रुपन्देही-१ बाट २०७९ सालको निर्वाचनमा जनमत पार्टीबाट उम्मेदवार बनेका कैलाश गुरुङले पनि केही महिनाअघि जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । उनकी श्रीमती गीता गुरुङले समेत प्रदेश सभा सदस्यबाट राजीनामा दिएर विदेश गएकी छन् ।
सम्मरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) र मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्द बनियासहितको एक समूह हालै एमालेमा प्रवेश गरेको छ । यी दुवै पूर्वअध्यक्ष बारम्बार पार्टी फेर्ने नेताका रूपमा गनिन्छन् ।
ठूला राजनीतिक दलहरूले भने अझै उम्मेदवार चयनलाई महत्व दिएको देखिएको छैन । गत निर्वाचनमा एमाले-राप्रपाबीच चुनावी तालमेल भए पनि यसपटक एक्लै चुनावमा होमिने तयारीमा रहेको एमालेबाट प्रारम्भिक रूपमा चार जना आकांक्षी देखिएका छन्, जसमध्ये पोलिटब्युरो सदस्य खिमलाल भट्टराई प्रमुख दाबेदार छन् ।
गत निर्वाचनमा उपविजेता कांग्रेसले क्षेत्रीय स्तरमा कार्यकर्ता भेटघाट गरे पनि उम्मेदवारीको टुंगो लगाउन सकेको छैन । गत निर्वाचनमा कांग्रेस नेता बालकृष्ण खाँण उम्मेदवार थिए र यसपटक पनि उनी दोहोरिन सक्ने चर्चा छ ।
समाजवादी मोर्चामा आबद्ध दलहरूबीच रुपन्देही-३ मा तालमेल अनिश्चित बनेको छ । मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक्लाएक्लै लड्ने भन्दै आन्तरिक तयारी गरेका छन् । माओवादीका उपाध्यक्ष अग्नि सापकोटा र अध्यक्ष प्रचण्डले समेत उपनिर्वाचनमा माओवादी एक्लै लड्ने र राम्रो नतिजा ल्याउने दाबी गरेका छन् । माओवादीबाट हकिउल्लाह खाँ, मनिषकुमार जोशी, सोनिया यादवलगायतले आकांक्षा राखेका छन् ।
अघिल्लो निर्वाचनको लेखाजोखा
२०७९ सालको निर्वाचनमा रुपन्देही-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा ३६ हजार ७१७ मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसका बालकृष्ण खाँणले ३४ हजार ३६ मत ल्याएका थिए । बोहरालाई नेकपा एमालेको साथ थियो भने खाँणलाई माओवादी र नेकपा एसको साथ थियो ।
समानुपातिकतर्फ यस क्षेत्रमा कांग्रेसले २० हजार २८९ मत ल्याएको थियो भने एमाले १६ हजार ९८६ र रास्वपाले १४ हजार १५४ मत पाएको थियो । राप्रपाले ९ हजार १८३ मत ल्याउँदा नागरिक उन्मुक्ति पार्टीले ६ हजार, जनता समाजवादी पार्टीले ५ हजार र जनमत पार्टीले ३ हजार ७०० मत पाएका थिए । यसले समानुपातिकमा कांग्रेस, एमाले र रास्वपाबीच मुख्य प्रतिस्पर्धा रहेको देखाउँछ ।
उम्मेदवारहरूको सक्रियता
हालसम्म उम्मेदवार घोषणा गरेकाहरू मतदातालाई विश्वासमा लिन दौडधुप गरिरहेका छन् । रास्वपाका डा. लेखजंग थापा पार्टीका स्थानीय नेताहरूसँग चुनावी अवस्थाबारे छलफल गरिरहेका छन् । जनमोर्चाबाट बद्रे आलम र जनमत पार्टीबाट धनीराम चौधरी पनि मतदातासँग भेटघाट र रणनीति बनाउन व्यस्त छन् । राप्रपाको जिल्ला उपाध्यक्ष छाडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अजय गुप्ता र बुटवलका युवा लेखनाथ गैरे पनि घरदैलो अभियानमा सक्रिय छन् ।
आगामी कात्तिक १७ गते हुने यस उपनिर्वाचनले रुपन्देही-३ मा कसले बाजी मार्ला भन्ने उत्सुकता बढाएको छ । दल बदल, ठूला दलको अलमल र साना दल तथा स्वतन्त्र उम्मेदवारहरूको सक्रियताले यो उपनिर्वाचनलाई अझ रोचक बनाउने निश्चित छ ।








