समाचार सुन्नुहोस :
काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको संवाद हट माइकमा रेकर्ड भएको छ। उनीहरू बुधबार चीनमा आयोजित विजय दिवस परेड हेर्ने क्रममा यो संवाद भएको हो।
पुटिनका अनुवादकले चिनियाँ भाषामा भनेका थिए, “जैविक प्रविधि तीव्र गतिमा अघि बढिरहेको छ। मानव अंगहरू पटक–पटक फेर्न सकिन्छ। जति लामो बाँचिन्छ, त्यति नै जवान देखिन्छ, सायद अमर पनि हुन सक्छ।” जवाफमा सीले भने, “केही मानिस भन्छन्, यस शताब्दीमा मानिस १५० वर्षसम्म बाँच्न सक्छन्।” त्यसपछि क्यामेरा परेडतिर फर्काइएको थियो।
चीनको सरकारी सञ्चारमाध्यम सिसिटिभीका अनुसार उक्त परेड अनलाइनमा झण्डै दुई अर्ब पटक र टिभीमा ४० करोडभन्दा बढी पटक हेरेको देखिएको छ। परेडमा सहभागी ५० हजार मानिसलाई सम्बोधन गर्दै राष्ट्रपति सीले विश्वले अब शान्ति वा युद्ध रोज्नुपर्ने समय आएको बताए।








