समाचार सुन्नुहोस :
काठमाडौँ – नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयपछि कम्पनीहरूले सम्पर्क गर्न थालेका छन्। बिहीबार सरकारले मेटा अन्तर्गतको फेसबुकसहित २६ वटा प्लेटफर्म बन्द गर्ने घोषणा गरेको थियो। त्यसको केही घण्टामै मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ता प्रक्रियाबारे जानकारी लिने प्रयास गरेका थिए।
मन्त्रालय स्रोतका अनुसार एलन मस्कको स्वामित्वमा रहेको एक्स (ट्विटर) ले पनि दर्ता प्रक्रियाका लागि नेपाल सरकारसँग सम्पर्क गरेको छ। यसअघि सरकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले ती सञ्जाल बन्द गर्न सुरु गरिसकेका छन्। अहिले धेरै प्रयोगकर्ताले सामाजिक सञ्जालमा पहुँच पाउन सकिरहेका छैनन्।
प्राधिकरणको पत्र, सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र मन्त्रालयको मन्त्रीस्तरीय आदेशअनुसार फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएपलगायतका लोकप्रिय सामाजिक सञ्जाल बन्द भएका हुन्।








