समाचार सुन्नुहोस :
काठमाडौँ – राति अबेर वा बिहान सबेरै हुने हल्ला र ध्वनि प्रदूषण नियन्त्रण गर्न नेपाल प्रहरीले कडाइ गर्ने भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सूचना जारी गर्दै छिमेकीलाई असुविधा हुने गतिविधि नगर्न आग्रह गरेको हो।
प्रहरीले राति वा बिहान उज्यालो नहुँदासम्म लाउड स्पिकरमा गीत नबजाउन, पार्टी वा जमघटमा ठूलो आवाज नगर्न, फोनमा चिच्याएर कुरा नगर्न, प्रेसर कुकरमा सिट्ठी नबजाउन, ठूलो स्वरमा खोक्ने वा खकार्ने जस्ता कार्य नगर्न अनुरोध गरेको छ। त्यस्तै, घरको गेट खोल्दा, शौचालय फ्लस गर्दा वा भाँडाकुडा चलाउँदा छिमेकीलाई बाधा हुने गरी ठूलो आवाज नगर्न पनि चेतावनी दिएको छ।
प्रहरीका अनुसार ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ। यसले विशेषगरी गर्भवती महिला, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकाको मानसिक स्वास्थ्यमा असर गर्छ। साथै, रातिको ध्वनि प्रदूषणले सबै उमेरका मानिसको निद्रामा बाधा पुर्याउने र पर्याप्त निद्रा नपुग्दा विभिन्न मानसिक तथा शारीरिक समस्या देखापर्ने बताइएको छ। प्रहरीले कानुनअनुसार ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने चेतावनी दिएको छ।








