टोकियो – कोबेमा एक २४ वर्षीया महिलाको उनकै निवास बाहिर भएको घातक हमलाको सम्बन्धमा प्रहरीले शुक्रबार टोकियोबाट एक ३५ वर्षीय पुरुषलाई हिरासतमा लिएको छ ।
पक्राउ पर्नेमा मासाशी तानिमोतो रहेका छन् । उनले बुधबार पश्चिमी जापानको कोबे शहरमा रहेको मेगुमी कातायामाको अपार्टमेन्ट भवनभित्र छुरा प्रहार गरी हत्या गरेको आरोप छ । प्रहरीले उनलाई ‘वान्टेड’ सूचीमा राखेर उनको खोजी गरिरहेको थियो ।
प्रहरीका अनुसार, तानिमोतोले अनुसन्धानकर्ताहरूलाई भने, ‘मैले उनलाई मार्ने नियत राखेको थिएँ वा थिइनँ, त्यो मलाई थाहा छैन, तर मैले एक वा दुई पटक छुरा हानेको कुरामा कुनै शंका छैन ।’
प्रहरीले उनलाई टोकियोको सिन्जुकु वार्डमा बस्ने एक कम्पनीको कर्मचारीको रूपमा चिनाएको छ । प्रहरीले उनीहरूबीचको सम्बन्ध र सम्भावित उद्देश्यबारे अनुसन्धान गरिरहेको जनाएको छ । एक अनुसन्धान स्रोतका अनुसार, सुरक्षा क्यामेराको फुटेजमा आक्रमण हुनुअघि २० देखि ३० वर्ष उमेरको जस्तो देखिने एक व्यक्तिले कातायामालाई पछ्याउँदै सडकमा हिँडिरहेको देखिएको थियो ।
स्रोतका अनुसार, पीडित साँझ ६:३० बजे आफ्नो कार्यस्थलबाट निस्किएपछि हुलाक कार्यालय र पसलमा रोकिएकी थिइन् । उनी साँझ करिब ७:२० बजे आफ्नो भवनमा पुगेपछि छैटौं तल्लामा रहेको आफ्नो अपार्टमेन्टमा जान लिफ्ट चढेको बेला आक्रमणमा परेको विश्वास गरिएको छ ।
भवनको उत्तरतर्फको पार्किङमा फेला परेको चक्कुमा लागेको रगत कातायामाको रगतसँग मेल खाएको स्रोतले जनाएको छ । प्रहरीले लिफ्टबाहिर फेला परेको उनको स्मार्टफोनको डाटा पनि विश्लेषण गरिरहेको छ ।
सुरक्षा क्यामेराको फुटेजमा तानिमोतो कोबेबाट पूर्वतर्फ जाने सिन्कानसेन (बुलेट ट्रेन) मा चढेको देखिएपछि प्रहरीले उनलाई पश्चिमी टोकियोको एक पहाडी सहर ओकुतामाबाट हिरासतमा लिएको थियो ।








