काठमाडौं – शुक्रबार अपराह्न भएको भारी वर्षा रोकिएलगत्तै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । पानी रोकिएपछि एकैपटक सडकमा निस्किएका सवारी साधनको चापले उपत्यकाका मुख्य सडक तथा चोकहरूमा घण्टौँसम्म लामो जाम भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, त्रिपुरेश्वर, माइतीघर, टुँडिखेल आसपास, कोटेश्वर, जडिबुटीदेखि ललितपुरको एकान्तकुना, ग्वार्को, कुमारीपाटी र लगनखेलसम्मको सडकमा सवारी साधनको लामो लर्को लागेको थियो । छोटो दुरी पार गर्न नै यात्रुहरूलाई एकदेखि दुई घण्टासम्म लागेको थियो, जसले गर्दा सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको छ ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले वर्षाको समयमा रोकिएका सवारी साधनहरू पानी थामिएपछि एकैपटक सडकमा आउँदा चाप धान्न नसकिएको बताए । ‘पानी परिरहेको बेलामा सडकमा सवारी साधन कम हुन्छन्,’ उनले भने, ‘तर पानी रोकिएपछि सबै एकैपटक निस्किँदा यस्तो अवस्था आएको हो । अहिले सवारी साधनहरू क्यूमा चलिरहेका छन् ।’
उनका अनुसार, वर्षा भइरहँदा ट्राफिक व्यवस्थापनको काम पनि कठिन हुने भएकाले जामलाई सहज बनाउन थप समय लागेको हो । ‘हाम्रो टोली जाम भएका सबै मुख्य स्थानमा खटिएर व्यवस्थापनको काम गरिरहेको छ,’ एसपी गिरीले भने ।
अचानक बढेको चापले गर्दा गौशाला, चाबहिल लगायतका भित्री सडकहरूमा समेत यसको असर देखिएको थियो । कार्यालय समय सकिने बेला परेको पानी र त्यसपछिको जामले घर फर्किरहेका हजारौं यात्रुहरू सडकमै अलपत्र परेका थिए ।








