काठमाडौं – अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षापछि आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेको छ । आइतबारसम्म मृत्यु हुनेको संख्या ५० पुगेको पुष्टि भएको छ भने हराइरहेका २७ जना बालिकाहरूको अझैसम्म पत्ता लाग्न सकेको छैन ।
अधिकारीहरूले यसलाई ‘सामूहिक हताहतको घटना’ को संज्ञा दिँदै उद्धार कार्यलाई तीव्र बनाएका छन् । बाढीको सबैभन्दा ठूलो मार मध्य टेक्सासको केर काउन्टीमा परेको छ, जहाँ एउटा ग्रीष्मकालीन शिविर नै बाढीको चपेटामा परेको थियो । ग्वाडालुप नदीको जलस्तर केवल ४५ मिनेटमा २६ फिट (करिब ८ मिटर) सम्म बढेपछि त्यस क्षेत्रका सयौँ मानिस फसेका थिए । केर काउन्टीका शेरिफ ल्यारी लेइथाका अनुसार, उनको काउन्टीमा मात्र ४३ जनाको शव निकालिएको छ, जसमा २८ वयस्क र १५ बालबालिका रहेका छन् ।
टेक्सास डिपार्टमेन्ट अफ इमर्जेन्सी म्यानेजमेन्टका प्रमुख निम किडले हराइरहेकाहरूको खोजी कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन् । ‘बेपत्ता भएका सबै नभेटिँदासम्म उनीहरूको खोजी जारी रहनेछ,’ उनले भने ।
वायु, स्थल र जल सेनाको संयुक्त टोलीले ग्वाडालुप नदीको किनारमा खोजी अभियानलाई तीव्र बनाएको छ । तर, लगातारको भारी वर्षा र प्रतिकूल मौसमका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको सार्वजनिक सुरक्षा विभागका निर्देशक फ्रिम्यान मार्टिनले बताए ।
विपत्तिको गम्भीरतालाई मध्यनजर गर्दै टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यमा संकटकालको घोषणालाई विस्तार गरेका छन् र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग थप संघीय स्रोतका लागि अनुरोध गरेका छन् । उपराष्ट्रपति जेडी भान्सले शनिबार घटनास्थलको अवस्थालाई ‘अकल्पनीय त्रासदी’ को संज्ञा दिएका छन् ।








