टोकियो – नेपाल सरकारको ढिलासुस्तीका कारण जापान सरकारले जिट्कोमार्फत नेपाली प्रशिक्षार्थी कामदार नल्याउने खतरा बढ्दै गएको छ । जापान सरकारले अन्य देशहरूबाट कामदारहरू ल्याउने प्रक्रिया सहज हुँदाहुँदै पनि नेपालीहरू ईमान्दार हुन्छन् भन्ने बुझाइका कारण कामदार ल्याउने देश नेपाललाई पनि छनौट गरेको जानकारहरू बताउँछन् ।
जापानले नेपाललाई हरेक क्षेत्रमा हेर्ने दृष्टिकोण राम्रो हुँदा पनि नेपाल सरकारको कर्मचारीतन्त्र ,जापनिज भाषा परीक्षा लिन तोकिएको नेपाल जाइका अलमनाइ एसोसिएसन (जान)को एकाधिकार, दादागिरी अनि अकर्मण्यताको कारण जापान परीक्षार्थी कामदार ल्याउने प्रक्रिया नै अलपत्र पर्ने स्थितिमा पुगेको छ ।
नेपाल बाट प्रशिक्षार्थी कामदार जापान ल्याउने गरेका हारदा इको (जापानी नागरिक) नेपालको प्रशासनिक क्षेत्रमा हुने गरेको ढिलासुस्तीले हैरान छन् । ‘हरेक काम अनलाइनबाट छिटो छरितो तवरले गर्न सकिन्छ । हरेक गतिविधि अनलाइनबाट नै हेर्न सकिन्छ । तर पनि किन नेपालमा काम ढिला हुने गर्छ,’ उनी प्रश्न गर्छन् ।
केही समय अघिमात्रै नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी जापानमा नेपाली श्रमिकलाई कसरी जापान आउन सहजीकरण गर्न सकिन्छ लगायत विषयमा सरोकारवालासँग आवश्यक छलफल गर्न जापान आएका थिए । नेपालबाट बिना झन्झट कामदार जापान पठाउन र जापान आउने नेपाली कामदारका सेवा, सुविधाको बारेमा सरकारको कस्तो नीति रहन्छ ? भन्ने हाम्रो प्रश्नमा ‘नेपाली कामदारलाई जापान जस्तो विकसित देशमा पठाउन हामी जस्तो सुकै सहयोग गर्न तत्पर छौं’ उनले भनेका थिए ।
मन्त्री भण्डारी भन्दा अगाडि श्रममन्त्री बनेका डोलप्रसाद (डीपी)ले समेत यसबारे आफू जानकार रहेकाले समस्या समाधान गर्ने सरोकारवालासँग बताएका थिए। तर नेपालका मन्त्रीहरूको आफूले भनेका कुराहरू पुरा नगर्ने संस्कार नै बनेको छ ।
पछिल्लो समय जापान आउने तयारीमा रहेका दाङका सोम गुरुङ देशमा गरिखाने वातावरण पनि नहुने, राम्रो देशमा मजदुरी गर्न जान लाग्दा पनि जाने बुझेका हौं भन्नेहरूबाट पाएको दुःख सम्झिदा उदेक लाग्ने गरेको बताउँछन् । जापानमा आवश्यक पर्ने सबै प्रक्रिया पुरा गरे र जापानबाट योग्यताको प्रमाणपत्र (सीओई) आएर जापानी दूतावासले भिसा पनि जारी गर्यो । तर, सीओई आउनुका साथै भिसा समेत प्राप्त गरे पनि उनी हालसम्म जापान जान पाएका छैनन् ।
जापानी पक्षले कामदार ‘अप्रुभ’ गरिसके पनि नेपालमा भाषा परीक्षाका नाममा अलमल्याउने र श्रम स्वीकृति दिने बेला वैदेशिक रोजगार विभागले पनि अनावश्यक रूपमा भाषा परीक्षाको प्रमाणपत्र खोज्ने हुँदा जापान जाने आफूजस्ता धेरै कामदारले सास्ती भोग्नुपरेको उनको भनाई छ ।
भाषा परीक्षा लिने एकाधिकार आलमुनाइ एसोसिएसनले पाएको छ । सोही संस्थाले भाषा परीक्षा सञ्चालन गर्दै आएको हो भने त्यसका लागि वैदेशिक रोजगार विभागले अनुमति प्रदान गरेको बताइएको छ । जापानबाट सीओई आएर भिसा जारी भइसकेपछि भाषा परीक्षाको नाममा पटक पटक फेल गराइएको एक पटक फेल भएपछि १५ दिनपछि मात्र फेरि पालो आउने गरेको गुरुङ बताउँछन् । ‘पालो आएर भाषा परीक्षाको जाँच दिन जाँदा त त्यस संस्थाका मान्छेहरू भुटान घुम्न गएर परीक्षा लिने कार्य स्थगित पो भएछ,’ उनी भन्छन्, ‘कहिले के को बिदा, कहिले के ? मेरो पीडा कसलाई सुनाऊ,’ उनले दुखेसो पोखे ।
गुरुङ त एउटा प्रतिनिधि पात्र मात्र हुन् । यतिबेला सुरक्षित श्रम गन्तव्य जापान आउन चाहनेहरूको यो व्यथा नै बनेको छ । जति पटक फेल गरायो, उति पटक परीक्षा शुल्कलगायत खर्च हुने र मानसिक तनाव समेत हुने गरेको पीडितहरूको गुनासो छ ।
कामदार ल्याउने जापानी कम्पनीहरूको कार्य तालिका अनुसार छिटो छरितो काम होस् भन्ने चाहन्छन् । नेपालमा भने बुझाइएका फाइलहरू पनि नभेटिने समस्या अझै छ । जापान कामदार ल्याउने प्रक्रिया सुरुवाती चरणदेखि नै ढिला सुस्ती हुने गरेको गुनासोपछि हामीले यस विषयमा विस्तृत रूपमा सुरुको प्रक्रिया बुझ्न जापानका लागि नेपाली राजदूतावास टोकियोका राजदूत डा. दुर्गाबहादुर सुवेदीसँग जिज्ञासा राख्यौं । राजदूत डा सुवेदीले भने, ‘हाम्रो चाहाना जापान जस्तो विकसित देशमा नेपालीहरू आउन र राम्रो अवसर पाउन भन्ने हो । हामीले यहाँबाट कामको अप्रुभ मात्र गर्ने हो । अहिले सबै कर्मचारी जापानमा नयाँ आएकोले कामको सेटिङ हुन केही समय लागेको हुन सक्छ, हामी यस विषयमा संवेदनशील छौं, तत्काल म दूतावासमा श्रम डेक्स सञ्चालनमा ल्याउने छु ।’
पछिल्लो तथ्यांकअनुसार जापानमा अध्ययन, रोजगारी, व्यवसाय लगायत काममा आएका नेपालीहरूको संख्या करिब २ लाख नाघी सकेको छ ।








