काठमाडौं – बीपी राजमार्गमा १० टन भन्दा माथिका सवारी साधन सञ्चालनमा रोक लगाउने सर्वोच्च अदालतबाट भएको परामादेशले ढुवानी र आवागमन ठप्प बनेपछि रामेछापका व्यवसायीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।
अाज रामेछाप उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाका सबै व्यवसायीले टाउकोमा कालोपट्टी बाँधेर विरोध र्याली निकाले । विभिन्न माग राखिएका प्ले कार्ड सहित विरोध र्यालिमा निस्किएका व्यवसायीहरुले सर्वोच्चको आदेश पुनारावलोकनको माग गरेका छन् । व्यवसायीहरुले समस्या सुल्झाउनका लागि दबाब दिन साताव्यापी विरोधका कार्यक्रम सार्वजनिक समेत गरेका छन् । उनीहरुले व्यवसाय बन्द गर्ने, मोटरसाइकलमा मालसामान राखेर ढुवानी गर्ने, (थुन्से)मा सामान बोकेर बजार परिक्रमा गर्ने र असार २ गते सिढी जुलुस गर्ने निर्णय समेत गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको इजलासले जेठ २१ गते बीपी राजमार्गमा ठूला सवारीका साधन सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि तराई हुँदै रामेछाप, दोलखा, ओखलढुंगा र सिन्धुलीकै महाभारत उत्तरतर्फको क्षेत्रमा ढुवानी र आवागमन प्राय ठप्प छ । तराईबाट पहाड जोडिने अर्को वैकल्पिक मार्ग छैन । लाहनको चामल, नारायणघाट, काठमाडौं, बनेपा, चरिकोट हुँदै रामेछापसम्म ढुवानी गर्नुपर्ने विषय समय, इन्धन, प्रतिस्पर्धा र सुलभताका हिसाबले उचित नहुने व्ययवसायीहरुले दाबी गरेका छन् । बीपीको बदला उक्त मार्ग प्रयोग गर्दा सामान ढुवानीमा चौबर भाडा र समय लाग्ने उनीहरुको जिकिर छ ।








