Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं –  ताजा हरियो तरकारीको माग मात्र होइन, मूल्य पनि बढी हुन्छ । जति महँगो परे पनि ताजा नै किन्ने र तत्काल पकाइहाल्ने आमउपभोक्ताको बानी छ । तर, त्यस्ता ताजा र चिल्लो देखिएका तरकारीमा विषादीको मात्रा उच्च हुने विज्ञहरू बताउँछन् ।

उच्च विषादीयुक्त तरकारी तत्काल पकाएर खाँदा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर गर्ने तथा दीर्घकालमा क्यान्सरसमेत निम्त्याउन सक्ने चिकित्सकको भनाइ छ ।

‘बजारबाट किनिने हरियो तरकारी जतिसक्दो बासी बनाएर मात्र पकाऔँ । बासी बनाउँदा तरकारीमा प्रयोग भएको विषादी उडेर जान्छ,’ बाली संरक्षण निर्देशनालयअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइ कालिमाटीका प्रमुख मानबहादुर क्षेत्रीले भने । तर, आफैँले फलाएको र विषादी प्रयोग नगरिएको भए ताजै तरकारी उपयुक्त हुने उनले बताए ।

बजारबाट किनेको तरकारी केही समय पानीमा डुबाएर राख्ने र घाममा सुकाउनाले पनि विषादीको मात्रा कम हुने उनको भनाइ छ । ‘तरकारी ताजै बसोस् भनेर फ्रिजमा राख्ने चलन छ । तर, फ्रिजमा राखिएको तरकारीमा प्रयोग भएको विष कम हुँदैन,’ केसीले भने, ‘मिल्छ भने बरू केही समय घाममा सुकाउँदा विष कम हुन्छ ।’

घाममा सुकाउन नमिल्ने सागलगायत तरकारीलाई भने केही समय पानीमा डुबाउने र तीन–चारपटक पखालेर मात्र पकाउ“दा असर नगर्ने उनले बताए । वर्षात्को समय तरकारीमा किरा बढी लाग्ने हु“दा किसानले विषादीको प्रयोग बढी मात्रामा गर्ने उनको भनाइ छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्वमहानिर्देशक तथा नेपाल एग्री बिजिनेस इन्नोभेसन सेन्टरका वरिष्ठ खाद्य प्रविधिविज्ञ जीवनप्रभा लामा हरियो तरकारीलाई किनेको एक–दुई दिनपछि पकाउँदा विषादीको असर कम हुने बताउँछिन् ।

धेरैबेर पानीमा पखालेर पकाउँदा पनि विषादीको असर कम हुने उनको भनाइ छ । लामाका अनुसार बोक्रा फालेर पकाउ“दा पनि नकारात्मक असर कम गर्न सकिन्छ । ‘भिटामिन प्रोटिनको दृष्टिले सही नभए पनि विषादी कम गर्न बोक्रा फाल्नु राम्रो हुन्छ,’  उनले भनिन् ।

तरकारीमा विषादीको जथाभावी प्रयोगले जनस्वास्थ्यमा गम्भीर समस्या पर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत तथा ल्याब म्यानेजर कृष्ण राईले बताए ।

‘विषादीको होल्डिङ पिरियड हुन्छ,’ उनले भने, ‘एक–दुई दिनपछि पकाउँदा विष कम हुन्छ ।’ उनका अनुसार किसानलाई विषादी प्रयोगबारे पर्याप्त ज्ञान नहुँदा पनि समस्या बढेको छ । ‘उनीहरूले आफ्नो मात्र फाइदा हेर्छन् । अघिल्लो दिन बेलुका विषादी हालेर भोलिपल्टै तरकारी बजार लाने समस्या पनि छ,’ राईले भने ।

चिल्ला र ताजा तरकारीमा भन्दा फुस्रा, किरा लागेका र बासी तरकारीमा विषादी कम हुने खाद्य प्रविधिविज्ञ जीवनप्रभा लामा बताउँछिन् । बजारमा बेचिने सबै तरकारीको परीक्षण सम्भव नभएकाले तरकारी किन्दा चिल्ला र ताजाभन्दा फुस्रा, ओइलिएका तरकारी किन्दा स्वास्थ्यको दृष्टिकोणले उचित हुने खाद्य विज्ञहरूको भनाइ छ ।

व्यावसायिक तरकारी किसानले तरकारी तथा फलफूलमा लाग्ने किरा मार्न मात्र होइन बढी उत्पादन र चिल्लो र ताजा देखाउनसमेत विषादी र रसायनको प्रयोग गर्ने गर्छन् । ‘किसानको बारीबाट उपभोक्ताको चुलोसम्म पुग्न दुईदेखि तीन दिन लाग्छ ।

त्यतिबेलासम्म चिल्ला र ताजै हुनु भनेको तरकारीमा विषादीबाहेक चम्काउन प्रयोग गरिने रसायनको पनि प्रयोग भएको हुन सक्छ,’ लामाले भनिन्, ‘त्यस्तो रसायनले जनस्वास्थयमा प्रतिकूल असर गर्छ ।’

हरियो तरकारी, फलफूल तथा सलाद ताजै रहोस् भनेर फ्रिजमा राख्ने प्रचलन बढ्दो छ । तर, त्यसरी फ्रिजमा राख्दा ब्याक्टेरिया नियन्त्रण गर्न सकिने भए पनि विषादी जस्ताको तस्तै बस्ने बाली संरक्षण निर्देशनालयअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण इकाइ कालिमाटीका मानबहादुर क्षेत्रीले बताए ।

तरकारीलाई फ्रिजमा नराखी घाममा सुकाउँदा विषादी छिटै उड्ने उनको भनाइ छ । तर, घाममा सुकाउन नमिल्ने सागलगायत तरकारीलाई भने नुनपानीमा कम्तीमा आधा घन्टा डुबाउँदा विषादीको असर कम हुने उनले बताए ।

चिकित्सकहरू हरियो सलाद कम खान सल्लाह दिन्छन् । पछिल्लो समयमा उच्च र मध्यमवर्गीय परिवारले सलाद खाने चलन बढेको छ । तर, काँचै खाइने सलादमा विषादीको मात्रा बढी हुने लामाको भनाइ छ ।

सलादका लागि प्रयोग गरिने काँक्रा, गाँजर, मुला, ताजै राख्न फ्र्रिजमा राखिने गरिन्छ । ‘हरियो सलाद कम खाऔँ । कम्तीमा २० मिनटदेखि आधा घन्टा नुनपानीमा डुबाएर राखौँ र सफा गरेर खाऔंँ,’ उनले भनिन् ।

अहिले बजारमा आँप र लिची आएका छन् । तर, अहिले आँपको सिजन होइन र आँप एकैपटक सबै पाक्दा पनि पाक्दैन । आँप, लिची र केरा पकाउन प्रयोग गरिने कार्बाइट परीक्षण गर्ने प्रविधि बाली संरक्षण निर्देशनालयअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण इकाइ कालिमाटीसँग नरहेको क्षेत्रीले बताए । ‘हामीसँग भएको त कीटनाषक हेर्ने प्रविधि मात्र हो, कार्बाइट परीक्षण गर्न सक्दैनौँ,’ उनले भने ।

कतिपय देशमा फलफूल पकाउन प्रयोग गरिने कार्बाइटको प्रयोग प्रतिबन्ध छ । तरकारी तथा फलफूलमा प्रयोग हुने सबैखाले विषादीको परीक्षण गर्ने क्षमता एकाइ तथा खाद्य प्रविधि गुण नियन्त्रण विभाग कसैसँग पनि नरहेको विभागका ल्याब म्यानेजर राईले बताए ।

बाली संरक्षण निर्देशनालयअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण इकाइ कालिमाटीले परीक्षण गरेको तरकारी तथा फलफूलमा केही महिनायता जनस्वास्थ्यमा गम्भीर असर गर्ने गरी विषादी प्रयोग भएको नपाइएको जनाएको छ । तर, बजारमा आउने सबैजसो तरकारीमा विषादी प्रयोग हुने गरेको र एकाइसँग सबैखालको विषादी परीक्षण गर्ने क्षमता नरहेको प्रमुख क्षेत्रीले बताए ।

जनस्वास्थ्यमा गम्भीर  असर गर्छ : डा. अरुणा उप्रेती

किरा–फ्टयांग्राबाट हुने क्षति कम गर्न र उत्पादन बढाउन अत्यधिक रूपमा प्रयोग गरिने विषादीले जनस्वास्थयमा तत्कालीन र दीर्घकालीन असर गर्ने डा. अरुणा उप्रेती बताउँछिन् । तत्कालीन असरमा वाकवाक लाग्ने, पेट दुख्ने, रिँगटा लाग्ने, पखाला लाग्ने, आँखा धमिलो देख्ने, मासु बाउँडिनेदेखि गर्भवती महिलाको गर्भ तुहिन सक्ने उनको भनाई छ । ‘लामो समय विषादीयुक्त तरकारी, फलफूल खाँदा मिर्गौला, मुटु, कलेजो फेल हुनेदेखि पक्षघात हुने र क्यान्सरसमेत हुन सक्छ,’ डा. उप्रेतीले भनिन् ।

तपाईको प्रतिक्रिया