टोकियो – आज टोकियोमा एक समारोहका बीच नेपाल सम्वत ११३५ को नयाँ वर्ष र म्ह पूजा कार्यक्रम सम्पन्न भएको छ । 
नेवार समुदायको अत्यन्त महत्वपूर्ण पर्व मानिने म्ह पूजा तथा नयाँ वर्ष समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले नयाँ वर्ष तथा म्ह पूजाको उपलक्ष्यमा हार्दिक शुभकामना ब्यक्त गर्नुभयो । आत्मशुध्दीका लागि गरिने म्ह पूजाको सान्दर्भिकता र महत्वबारे प्रकाश पार्दै राजदूत डा. भट्टराईले जापानजस्तो ब्यस्त मुलुकमा रहेर पनि आफ़्नो कला, सँस्कृति र रीतिरिवाजलाई जोगाई राख्न गरिएको प्रयासको प्रशंसा गर्नुका साथै निरन्तरताको कामना पनि गर्नुभयो ।
नेवाः इन्टरनेशनल फोरम जापानले आयोजना गरेको सो कार्यक्रममा जापान नेपाल सोसाइटीका अध्यक्ष एवं नेपालका लागि पूर्व जापानी राजदूत कोजिमा मित्सुआकी, एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्ट, नेपाली
राजदूतावासका उपनियोग प्रमुख तापस अधिकारी, नेपाली जनप्रगतिशील मोर्चा जापानका अध्यक्ष अरुणकुमार श्रेष्ठ, नेवाः जागरण मञ्च जापानका अध्यक्ष सुनिल शाक्य, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ललगायतले नेपाल सम्वत अनुसारको नयाँ वर्ष र म्ह पूजाको उपलक्ष्यमा शुभकामना मतब्य ब्यक्त गर्नुभएको थियो ।
यस अघि समारोहका सभापति एवं संस्थाका अध्यक्ष बिगेन्द्रमान सिंह प्रधानले उपस्थित महानुभावहरुलाई
स्वागत गर्नुका साथै म्ह पूजा र नेपाल सम्वतको महत्व बारे प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा सामुहिक म्ह पूजा गरिएको थियो भने कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
नेवार समुदायमा दीपावलीको लक्ष्मी पूजाको दिनमा म्ह पूजा गर्ने प्रचलन छ । जापानको सन्दर्भमा भने बिदाको अनुकुलता मिलाउनुपर्ने भएकोले आज म्ह पूजा तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम राखिएको कार्यक्रममा जानाकारी गराईएको थियो ।
टोकियो इचिगायास्थित जाईकाको हलमा भएको सो कार्यक्रम संस्थाकी उपाध्यक्ष गंगा डंगोलले सञ्चालन गर्नुभएको थियो भने पूर्व अध्यक्ष
रविन शाक्यले जापानी भाषामा सहजीकरण गर्नुभएको थियो ।
साँगीतिक वातावरणका साथमा विभिन्न किसिमका नेवारी परिकारहरु रहेको रात्रीभोजमा सहभागीहरुले आनन्द लिनुका साथै आपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए ।
म्ह पूजा समारोहको प्रमुख अतिथि राजदूत डा. भट्टराई र अन्य बिशेष अतिथिहरुले सामुहिकरुपमा दीप प्रज्वलन गरी उदघाटन गर्नुभएको थियो । ****














