Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

हिन्दु मान्यता अनुसार किरिया बस्ने परम्परा अनौठो छ । बाबुआमाको निधन भएपछि छोरा-बुहारीले १३ दिन किरिया बस्नु पर्छ । पितृसत्ताको बोलवाला भएका कारण किरिया बस्ने क्रममा पनि आमा, छोरी र बुहारीलाई गरिने अतिरिक्त विभेदहरु उत्तिकै आपत्तिजनक छन् । तर छोरालाई पनि १३ दिन किरिया बस्न उत्तिकै कठिन छ । यो अवधिमा अवलम्बन गरिने विधिहरु यतिविघ्न पाखण्डी, अवैज्ञानिक र पीडादायी छन्, भनी साध्य छैन । पृथ्वीमा गरेको दान परलोकमा पितृलाई प्राप्त हुने जस्ता अपत्यारिला कथाहरु सुनाइन्छ ।

सेतो कोराको लुगामा बस्नु पर्छ । खाली खुट्टाले हिँड्नु पर्ने र परालमाथि सुत्नु पर्छ भन्ने मान्यता छ । किरियापुत्रीका लागि पानी, खाद्यान्न अरुले छुनु हुन्न । खेतबारीमा पकाएर नून बिनाको भात खानु पर्छ, तरकारी बेगर । आफूलाई एकदमै कष्ट दिएर १३ दिन बिताएपछि मात्रै बाबुआमा अथवा आफूले मान्ने मान्छे स्वर्ग जाने विश्वासमा यी कामहरु गरिन्छन् । हिजोआज सामाजिक डर मान्दै पनि कतिपयले १ वर्षसम्म र आफूलाई आधुनिक बताउने छोरा र श्रीमतीले ४५ दिनमा सेता लुगाको साटो सामान्य लुगा लगाउन थालेका छन् ।

आफ्न बाबु, आमा वा मान्यजनप्रति श्रद्धा गर्ने कामै सिलसिला हो, काजकिरिया पनि । त्यसैले उनीहरुको योगदान सम्झिएर श्रद्धा व्यक्त गर्नु एकदमै जरुरी छ र त्यो आवश्यक पनि छ । तर एक्काइसौं शताब्दीमा आएर बाबुआमा स्वर्ग जाने नाममा हदैसम्मका अविश्वसनीय र कष्टप्रद काम गर्नु संस्कार होइन, यो त कुसंस्कार हो । किरिया बसेको तीन वा पाँच दिन पछि सुनाइने गरुड पुराण लगायतका कथाहरु यतिविघ्न छन्, ती सुन्न समय लाग्ने खालका छन् । लैंगिक हिसाबमा त झनै समस्या छ, गरुड पुराण । आजको लोकतान्त्रिक समाजले यसलाई पूरै खारेज गर्नु पर्छ ।

दुःख परेका बेला इष्टमित्र भेट्न आउनु स्वाभाविक मानिन्छ । हिजोआज १३ दिनसम्म कसैलाई नछोई किरिया बस्न सम्भव छैन । ‘पहिले-पहिले कृषि मात्र मुख्य पेशाको रुपमा थियो । तर आजभोलि धेरै पेशा र व्यवसाय चलाएर जीविकोपार्जन गर्न पर्ने बाध्यता छ । त्यसकारण पनि काजकिरिया गर्ने १३ दिने अवधि छोट्याउनु पर्छ’ भन्छन् संस्कृतिविद् मोदनाथ प्रश्रति । प्रश्रतिका भनाइमा, १३ दिन अति नै लामो भयो भनेर कर्मकाण्ड महासंघले पनि ३ दिन अथवा धेरैमा ५ दिन किरिया बसे पुग्ने प्रस्ताव गरे पनि अहिलेसम्म यो क्रम शुरु हुन सकेको छैन । बाँचुन्जेलसम्म आफ्ना आमाबुबाका लागि १३ दिनसँगै बसेर माया गर्न समय नभएका लागि मरेपछिको १३ दिनको कुनै औचित्य हुँदैन । त्यसैले कसैलाई माया र स्नेह दिने हो भने बाँचुन्जेल नै दिउँ । बाँचुन्जेल गर्न नसकेको कर्तव्यलाई मरेपछि पूरा गर्ने संस्कारलाई त्याग्नै पर्छ ।

कसैको निधनमा उसका परिवारका सदस्यको भावना संवेदनशील हुन्छ । त्यस्तो अवस्थामा उनीहरु समाज वा छिमेकीको डरले अन्धविश्वास पछ्याउन विवश हुन्छन् । त्यसैले समाजमा आधुनिक सोचाइ राख्ने हरेकजसो व्यक्ति काजकिरियाको यो अवधि छोट्याउनु पर्छ र यसलाई वैज्ञानिक बताउनु पर्छ भन्ने पक्षमा हुँदाहुँदै पनि परिवर्तनको कदम उठाउने आँट गर्न सक्दैनन् ।

हामीले धर्मर् र संस्कृतिसँग सम्बद्ध दसैं-तिहार जस्ता पर्वमा दिने विदा छोटो पार्दै लगेका छौं । यस परिवेशमा अब काजकिरिया जस्ता संस्कारको अवधि पनि घटाउँदै लैजानु पर्छ । यसको अगुवाइ सरकारले नै गर्न सक्छ । किनकि निजामती, प्रहरी, सेना, शिक्षक लगायतका क्षेत्रमा किरिया विदा दिँदा १३ दिन दिने गरेको छ भने अब त्यसलाई ३ दिनमा झार्नु पर्छ । यसपछि समाजले आफैं यसको अनुशरण गर्न थाल्छ । यस्ता कुसंस्कारलाई सच्याएर समयसापेक्ष बनाउने कामको अगुवाइ गर्न सरकार अघि सर्ने बेला आएको छ ।

काजकिरिया गर्ने काम भनेको मृतकप्रति श्रद्धाञ्जली दिने कार्यक्रममात्रै हो । त्यस अवसरमा आफन्त र मित्रहरु बोलाएर क्षमताअनुसार मृतकको सम्मानता फूलगुच्छा चढाएर श्रद्धा गर्न सकिन्छ । त्यसपछि वाषिर्क रुपमा उनको सम्झनामा श्रद्धासुमन चढाउन सकिन्छ । यसो भएमा मरेर जानेप्रति श्रद्धाञ्जली अर्पण गर्न पनि सकिन्छ र नचाहिँदा सामाजिक कुसंस्कार बोकेर हिँडिरहनु पनि पर्दैन ।

तपाईको प्रतिक्रिया