लुभेन – ‘न्याय नपाए गोर्खा जानु, राजनीति गर्न मन लागे बेल्जियम आउनु’ बेल्जियममा बस्दै आएका नेपालीहरुबीच चर्चित बनेको यो व्यङ्ग्यमक भनाईले यहाँ रहेका सामाजिक संस्थाको वास्तविकतालाई छर्लङ पार्छ ।
नेपालका प्रमुख राजनीतिक दलहरुका भ्रातृ संगठनका साथै स्वतन्त्र सामाजिक संस्थाहरु सक्रिय रहेको बेल्जियमका नेपालीहरुबीच यहाँ चर्को राजनीति हुने गरेको छ । आफूलाई गैर आवसीय नेपालीहरुको साझा छाता संगठन दावी गर्ने गैर आवासीय नेपाली एनआरएन बेल्जियको चुनाव समेत राजनीतिक किचलोबाट अछुतो रहेन ।
आइतवार भएको एनआरएनको अधिवेशनबाट प्रेम गुरुङ बिजयी हुनुभएको छ । नेपाली कांग्रेस निकट जनसम्पर्क समितिमा आवद्ध गुरुङ सुशील कोइराला पक्षधर हुनुहुन्थ्यो भने उहाँसँग पराजित भएका गंगाधर गौतम देउवा पक्षधर मानिनुहुन्छ ।
लोकतान्त्रिक समावेशी समूहको नाममा प्यानल नै बनाएका गुरुङलाई जनजाति महासंघ, एकीकृत नेकपा माओवादीको प्रचण्ड पक्ष निकट नेपाली जनप्रगतिशिल मञ्चको पनि समर्थन थियो । एनआरएनको महाधिवेशनको तयारीसँगै उम्मेदवारहरु भोट माग्न व्यस्त थिए । उम्मेदवारहरुले एनआरएनको समस्या समाधानको कुनै चुनावी एजेन्डा अघि सारेका थिएनन् ।
विगत २ वर्षमा निवर्तमान कार्यसमितिले केही गर्न नसकेपछि अधिकांश बेल्जियममा बस्दै आएका नेपालीहरु एनआरएनप्रति रुष्ट छन् । यसअघिको चुनावमा २ हजार बढी प्रतिनिधि रहेकोमा यो पटक भने १६ सय मात्र सहभागि थिए । प्रतिनिधिहरुको सदस्यता पनि भ्रातृ संगठनहरुले नविकरण गरिदिएका छन । धेरैजसो ब्यक्तिको नविकरण शुल्क १० युरो अर्थात १ हजार रुपैयाँ पनि उनीहरुले तिरिदिएका थिए ।
बेल्जियम एनआरएनमा मात्रै होइन संगैका देशहरु नेदरल्याण्डस, जर्मनी, स्पेन, पोर्चुगलमा पनि यस्तै चुनावी वातावरण छ । सहमतिबाट चयन भएका ठाउँमा पनि दलीय भागबण्डाको आधारमा पदाधिकारी चयन भएका छन् ।
चुनावपछिको किचलो
प्रजातान्त्रिक प्रणाली अनुसार चुनावमा पराजित भएको समूहले विजयी समूहको अस्तित्व स्वीकार्नु पर्छ । तर यो चुनावमा भने पराजित समुहले ३४ मतको बखेडा झिकेर पुन चुनावको माग गरिरहेको छ । त्यसमा गंगाधर गौतम अघि सरेपनि पछाडिबाट अरु हरुवा उमेदवारले साथ दिएका छन् ।
लुभेनबाट उपस्थित प्रतिनिधिभन्दा ३४ मत बढी आएको भन्दै पराजितहरुले पुन चुनावको माग गरेका छन् । यद्यपि त्यो ३४ मत पाए पनि पराजितहरु विजयी हुने अवस्था भने छैन । यस्तो अवस्थामा आफ्नो पराजय स्वीकार गरी विजयी समूहलाई सहयोग गर्नु गौतमलगायतको कर्तव्य हो ।
प्रसङग जनसम्पर्क समिति चुनावको
नेपाली काँग्रेस निकटको जनसम्पर्क समितिको चुनावमा पनि गंगाधर गौतमले भाँडभैलो गर्नुभएको थियो । केही हप्ताअघि मात्र भएको जनसम्पर्क समितिको चुनावको मत गणना चलिरहेको अवस्थामा रक्सीले मातेका गौतमले भाँडभैलो मच्चाउनु भएको थियो । प्रेम गुरुङले अग्रता लिएपछि रक्सीले मातेका गौतमको व्यवहारका कारण मत गणनामा खटिएकाहरुले मत गणना नै स्थगित गरेका थिए ।
गौतमले मत नतिजा कुरिरहेका बेल्जियम काग्रेसका पाका ब्यक्ति पदम अधिकारीलाई कुर्सी हान्नु भएकोथियो । जनसम्पर्क समितिको विवादलाई अर्जुन जोशीले तत्कालै साम्य बनाए पनि चुनावको नतिजाको बिबादलाई साम्य पर्न भने सक्नुभएन । जुन निर्णयलाई त्यति बेला गुरुङ पक्षले स्वीकार गरेको थिएन ।
र अन्त्यमा
बेल्जियममा लगभग ७ हजारको हाराहारीमा नेपालीहरु बसोबास गर्छन् । धेरै जसाले वैधानिक रुपमा यहाँ बसोबास गरिहेको भएपनि केही भने अवैधानिक रुपमा बस्न बाध्य छन् ।
वैधानिक वा अवैधानिक जुनरुपमा बसेपनि उनीहरुसँग थुप्रै समस्या छन् । एनआरएन लगायतका नेपाली संघ सस्थाहरुले यिनीहरुको समस्या समाधानका लागि पहल गर्नु पर्ने हो । तर एनआरएन चुनाव होस वा अरु नै कुनै संघ सस्थाको चुनाव यसको चर्को राजनीति र गुटबन्दी हुन्छ ।
बेल्जियममा प्रमुख रुपमा नेपाली र स्थानीय भाषा सिकाई, ढुकुटीलगायतका समस्या समाधानमा पनि कसैको ध्यान गएको पाइँदैन । यी समस्या साना देखिए पनि यसले दीर्घकालिन असर पार्न सक्छ । ***








