इस्लामावाद-नेपाली दूतावास इस्लामावादले एक प्रेस विज्ञप्ति जारी गरी वास्तविक सत्यतथ्य नबुझी विभिन्न खाले प्रलोभन देखाउने दलालको लहैलहैमा नलाग्न आग्रह गरेको छ । हालैका दिनहरूमा स्थलमार्ग हुँदै युरोपियन मुलुकहरुमा पुर्याइदिने प्रलोभन देखाई सोझासाझा नेपाली युवाहरुलाई मानव तस्करहरुले इरान, इराक तथा टर्कीमा पुर्याई ठग्ने र अलपत्र पार्ने गरेका घटनाहरु बढ्न थालेपछि दूतावासले विज्ञप्ति जारी गरी सबैलाइ सजग बनाएको हो । विज्ञप्तिमा भनिएको छ -“हालैका दिनहरुमा आएर यस्ता घटनाहरुमा बृद्धि भई कतिपय खाडीका मुलुकहरुमा राम्रै रोजगारी गरिरहेका नेपाली युवाहरु समेत भैरहेको रोजगारी तथा कमाई छाडेर दलालको फन्दामा परी इरान तथा टर्कीमा पुगेर अलपत्र परेका घटनाहरु देखापरेका छन । दलालहरुले युरोप पुर्याउने बहानामा विच बाटोमा पुगेपछि राहदानी, पैसा लुटेर अलपत्र पारिदिने घटनाहरु बढ्दो छ । एकातिर दलालको लुटाइबाट अलपत्र परेकाहरु अवैध रुपमा प्रवेश गरेको अभियोगमा सम्बन्धित देशको कानून अनुसार कारवाही हुँदा नेपाली नागरिकले जेलसजाँय समेत भोग्नुपर्ने दुःखद अवस्था आउने गरेको छ । इरान, टर्कीमा अलपत्र परेका नेपालीहरुलाई सकुशल नेपाल फिर्ता ल्याउन दूतावासले नेपाली अवैतनिक कन्सुलेट तथा सरोकारवालाका साथै अन्य निकायसँगको सहयोग र समन्वयमा आवश्यक कार्यहरु गरिरहेको पनि जनाएको छ । केही नेपाली नागरिकहरु नेपाल फिर्ता भैसकैका छन् भने केही फिर्ती प्रकृयामा रहेका छन् । हाल आएर त्यसरी अवैधानिकरुपमा इरान तथा टर्की पुग्ने नेपालीहरुको सख्या बढदै जाँदा उद्धार कार्य चुनौतिपूर्ण बन्दै गइरहेको जनाएको छ । स्थलमार्गवाट इरान, टर्की हुँदै गैर कानूनी रुपमा युरोप पुग्न गरिने यात्रा कठिन र असहज छ, त्यतिकै मात्रामा जोखिमपूर्ण पनि देखिन्छ । पश्चिम एसियाको हालको अवस्थालाई हेर्दा उक्त जोखिमको सहज अनुमान लगाउन सकिन्छ ।
तर्सथ, दलालको भरमा परि प्रवेशाज्ञा लगायत आवश्यक बैधानिक प्रक्रिया पुरा नगरी अनिश्चित गन्तव्यका लागि प्रस्थान गर्ने जोखिम नलिन तथा भैरहेको रोजगारी छाडने वा ऋणधन गरेको ठूलो रकम नाशहुनबाट जोगिन सबै नेपाली दाजुभाई दिदीबहिनीहरुमा दूतावास हार्दिक अनुरोध गर्दछ ।” साथै यसरी फसाउने दलालहरुलाई कानून बमोजिम कारवाही गर्नका लागि यस नियोग, नेपाल सरकारको बैदेशिक रोजगार विभाग तथा प्रहरी कार्यालयमा सूचना दिई सहयोग गर्न समेत अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया








