टोकियो – अर्थतन्त्र जापानले हाल गम्भीर जनसाङ्ख्यिक चुनौतीको सामना गरिरहेको छ । हालै सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनअनुसार जापानका करिब २५ प्रतिशत नगरपालिकामा पछिल्लो पाँच वर्षको अवधिमा १० प्रतिशतभन्दा धेरैले जनसङ्ख्या घटेको पाइएको छ ।
जापानी समाचार संस्था ‘क्योदो न्युज’ ले सन् २०२० को जनगणना र सन् २०२५ को प्रारम्भिक तथ्याङ्कलाई विश्लेषण गर्दै तयार पारेको रिपोर्टले जापानका ग्रामीण तथा सहरी क्षेत्रमा जनसङ्ख्या तीव्र रूपमा रित्तिँदै गएको डरलाग्दो चित्र प्रस्तुत गरेको हो ।
तथ्याङ्कअनुसार १० प्रतिशतभन्दा बढी जनसङ्ख्या गिरावट व्यहोर्ने नगरपालिकाहरूको सङ्ख्या अघिल्लो पाँच वर्षको तुलनामा झन्डै दोब्बर पुगेको छ। सन् २०१५ देखि २०२० को अवधिमा यस्तो गिरावट भएका स्थानीय तह २४७ रहेकामा सन् २०२० देखि २०२५ को अवधिमा यो सङ्ख्या बढेर ४७७ पुगेको छ । कुल १ हजार ८९२ नगरपालिका र प्रशासनिक जिल्लाहरूमा गरिएको यो अध्ययनले जापानका ९७ सहर, २९४ गाउँ र ८५ नगरहरूमा जनसङ्ख्याको ठुलो हिस्सा घटेको देखाएको छ ।
सबैभन्दा धेरै जनसङ्ख्या गिरावट मध्य जापानको इशिकावा प्रिफेक्चरस्थित सुजु सहरमा देखिएको छ । सन् २०२४ को विनाशकारी भूकम्पपछि पूर्वाधारको अभाव र बसाइसराइका कारण त्यहाँको जनसङ्ख्यामा ३४ प्रतिशतले कमी आएको छ । त्यस्तै, उत्तरपूर्वी जापानका इवाते र अकिता तथा पश्चिमी जापानको कोची प्रिफेक्चरका आधाभन्दा धेरै स्थानीय तहमा १० प्रतिशतभन्दा बढी जनसङ्ख्या घटेको छ ।
जनसाङ्ख्यिक विज्ञहरूले जनसङ्ख्याको यो तीव्र गिरावटले सार्वजनिक सेवा, स्थानीय अर्थतन्त्र र सामुदायिक संरचनामा गम्भीर धक्का पुग्ने चेतावनी दिएका छन्। चुओ विश्वविद्यालयका प्राध्यापक कोहेई वाडाले भनेका छन्, ‘अब हामीले हरेक क्षेत्रमा जनसङ्ख्या घट्दो क्रममा छ भन्ने तथ्यलाई स्वीकार गर्दै नयाँ सामाजिक संरचना निर्माण गर्न ढिला गर्नु हुँदैन ।’
अर्का विज्ञ ताकाओ कोमिनेले केवल जन्मदर बढाउने नीतिको भर नपरी ‘स्मार्ट स्रिङ्केज’ अर्थात् घट्दो जनसङ्ख्याअनुसार पूर्वाधार र बजेटको सन्तुलन मिलाउने रणनीति अपनाउनुपर्नेमा जोड दिनुभएको छ । यसले सेवाको गुणस्तर कायम राख्न र नागरिकको जीवनस्तर उकास्न मद्दत गर्ने उहाँको तर्क छ ।
यद्यपि, २४३ स्थानीय तहमा भने जनसङ्ख्या वृद्धि भएको देखिएको छ । सन् २०११ को आणविक सङ्कटपछि खाली भएका फुकुसिमाका ओकुमा र फोटाबा जस्ता क्षेत्रमा मानिसहरू फर्कने क्रम बढ्दा वृद्धिदर उच्च देखिएको छ । त्यस्तै, ओसाका र नागोयाका केन्द्रिय भागहरू र पर्यटन व्यवसाय फस्टाएको होक्काइडोको सिमुकाप्पु गाउँमा पनि जनसङ्ख्या बढेको छ ।
जापान सरकारले जनसङ्ख्या नियन्त्रणका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रमहरू ल्याए तापनि ग्रामीण क्षेत्र रित्तिने क्रम र बढ्दो वृद्धवृद्धाको सङ्ख्याले जापानी नीति निर्माताहरूलाई नयाँ शिराबाट सोच्न बाध्य बनाएको छ ।








