टोकियो – जापानमा ग्रीष्मकालीन प्रचण्ड गर्मी र अचानक हुने वर्षाको दोहोरो मारबाट सर्वसाधारणलाई राहत दिन चर्चित छाता सेयरिङ सेवा ‘आई-खासा’ले नयाँ र अत्याधुनिक ‘आई-खासा मिनी’ सञ्चालनमा ल्याएको छ । यही जुलाई २ देखि सुरु गरिएको यो सेवाअन्तर्गत घाम र पानी दुवै ओत्ने पट्याउन मिल्ने (फोल्डिङ) छाताहरू अब जापानका प्रमुख रेल स्टेशनहरूमा उपलब्ध हुनेछन्।
टोकियोस्थित ‘नेचर इनोभेसन ग्रुप’ले ओसाका मेट्रो, हान्क्यु रेलवे र किन्तेचु रेलवेसहित आठवटा प्रमुख रेल कम्पनीहरूसँगको साझेदारीमा यो सेवा सुरु गरेको हो । पश्चिमी जापानको कान्साई क्षेत्रका करिब २७० वटा रेल स्टेशनहरूमा १,२०० वटा यस्ता विशेष छाताहरू राखिएका छन् ।
‘आई-कासा मिनी’ नाम दिइएको यो छाता प्रविधियुक्त र प्रयोगकर्ता मैत्री छ । यो छाता केवल २५० ग्रामको छ, जसले गर्दा बोक्न निकै सहज हुन्छ । यसले ९९.९ प्रतिशतभन्दा बढी परावैजनी किरणहरूलाई रोक्दछ र यसको प्रकाश छेक्ने क्षमता ९९.९९ प्रतिशतभन्दा बढी छ । जापानी मौलिक बुट्टा भएका दुईवटा विशेष सीमित संस्करणका डिजाइनहरू पनि उपलब्ध गराइएको छ ।
सन् २०१८ मा ‘डिस्पोजेबल’ (एकपटक प्रयोग गरेर फालिने) छाताको प्रयोग घटाउने र वातावरण जोगाउने उद्देश्यले सुरु भएको यो सेवा पूर्ण रूपमा प्रविधिमा आधारित छ । प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा आई-खासाको एप डाउनलोड गर्नुपर्ने हुन्छ। स्टेशन वा व्यावसायिक भवनमा राखिएका ‘आई-खासा स्पट’ मा पुगेर त्यहाँको ‘क्युआर कोड’ स्क्यान गरेपछि छाताको लक स्वतः खुल्छ । प्रयोग गरिसकेपछि ग्राहकले आफूलाई पायक पर्ने कुनै पनि आई-कासा स्पटमा सो छाता फिर्ता गर्न सक्छन् ।
यस सेवाको शुल्क पनि निकै सस्तो राखिएको छ । प्रयोगकर्ताले दैनिक २१० येनवा मासिक ३६० येनको सदस्यता शुल्कमा जति पटक पनि छाता साटासाट गर्न सक्छन् ।
हाल जापानभर यस एपका ९ लाख २० हजारभन्दा बढी दर्ता भएका प्रयोगकर्ताहरू छन् । कम्पनीका ३१ वर्षीय अध्यक्ष सोजु मारुकावा भन्छन्, ‘टोकियो क्षेत्रमा यो सेवा निकै लोकप्रिय भइसकेको छ र अब हामी ओसाका लगायतका कान्साई क्षेत्रमा पनि यसलाई विस्तार गर्दैछौँ । प्रचण्ड गर्मीको समयमा पैदल यात्रा गर्नेहरूका लागि यो सेवा वरदान सावित हुने हाम्रो विश्वास छ ।’








