समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले पानी नपाए काठमाडौँतर्फको आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन् । बुधबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले मुहान क्षेत्र र सुन्दरीजल–गोकर्णेश्वरका स्थानीयले पर्याप्त पानी नपाउँदा अन्याय भएको बताए। ड्याम आफ्नै क्षेत्रमा भए पनि स्थानीयवासी पानीबाट वञ्चित हुनु स्वीकार्य नभएको उनको भनाइ थियो।
सांसद पाण्डेले खानेपानी वितरणमा कर्मचारी र प्राविधिकको मिलेमतोका कारण केही क्षेत्रमा मात्र पानी पुग्ने र अन्य स्थानका नागरिकले सास्ती खेप्नुपरेको आरोप लगाए। उनले वितरण प्रणाली पारदर्शी र व्यवस्थित बनाउन सम्बन्धित निकायलाई आग्रह गरे।
आरुबारीमा निर्माणाधीन २ करोड लिटर क्षमताको पानी ट्याङ्कीको काम र दोस्रो चरणको पाइपलाइन विस्तारमा भइरहेको ढिलाइले समस्या झन् बढाएको उनको भनाइ छ। सांसद पाण्डेले स्थानीयको माग तत्काल सम्बोधन नभए आफू स्वयं आन्दोलनमा उत्रिएर मेलम्चीको पानी आपूर्ति रोक्ने चेतावनी दिएका हुन्।








