टोकियो – विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य टोकियोको ओदाइबा यहि जुलाई १८ देखि २० सम्म ‘नेपालमय’ बन्ने भएको छ । विगत डेढ दशकदेखि जापानमा नेपाली पहिचानलाई प्रवर्द्धन गर्दै आएको ‘नेपाल फेस्टिभल’ले यस वर्ष १५औँ संस्करणमा आइपुग्दा आफूलाई परिष्कृत र थप व्यापक बनाउने घोषणा गरेको छ ।
जापानस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको संयुक्त आयोजनामा हुने यसपटकको फेस्टिभल केवल एउटा सांस्कृतिक जमघटमा मात्र सीमित रहने छैन । यसले नेपालको कला, संस्कृति, व्यापार, र पर्यटनलाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने एउटा रणनीतिक लक्ष्य बोकेको छ ।
विगतका वर्षहरूमा दुई दिन मात्र सञ्चालन हुने गरेको यो फेस्टिभल यस वर्ष पहिलो पटक लगातार तीन दिनसम्म चल्नेछ । आयोजकले यसलाई ‘ऐतिहासिक संस्करण’का रूपमा दाबी गर्नुको मुख्य कारण यसको आयोजनास्थल र समयावधि नै हो । ओदाइबा जापानी नागरिकका लागि मात्र नभई विश्वभरका पर्यटकहरूका लागि प्रमुख आकर्षणको केन्द्र हो ।
एनआरएनए जापानका प्रवक्ता सचिन आचार्यका अनुसार, यो फेस्टिभलको उद्देश्य जापानमा रहेका नेपालीहरूलाई मात्र जोड्नु होइन, बरु ओदाइबा पुग्ने हजारौँ विदेशी पर्यटकलाई नेपालको ‘ओरिजिनल’ सभ्यता र आतिथ्यसँग साक्षात्कार गराउनु हो । ‘हामी यसपटक नेपाललाई जापानभित्र मात्र होइन, संसारका विभिन्न कुनाबाट टोकियो आएका पर्यटकहरू माझ पुर्याउँदैछौँ,’ आचार्यले भने ।
फेस्टिभलमा नेपालीपनको सुगन्ध छर्ने गरी विविध सांस्कृतिक कार्यक्रमहरू तय गरिएका छन् । लोकप्रिय गायक अर्जुन सापकोटा र शान्ता रानी परियारको सांगीतिक प्रस्तुतिदेखि गुरुङ, मगर लगायत विभिन्न जातजातिका मौलिक झाँकी, बाजागाजा र नृत्यहरूले ओदाइबालाई नेपाली रङमा रंगाउनेछन् ।
यस वर्षको अर्को नवीन पक्ष भनेको नेपाली उत्पादनको बजारीकरण हो । पहिलो पटक पाँचवटा नेपाली ब्रान्डहरूले आफ्ना उत्पादन तथा सेवाको प्रदर्शनी गर्नेछन् । यसले नेपाली उद्यमशीलतालाई जापानी र अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराउन ‘लन्च प्याड’को काम गर्ने विश्वास लिइएको छ । मोमो र सेलरोटी जस्ता स्वादिलो नेपाली परिकारका स्टलहरूले विदेशी पाहुनाहरूलाई आकर्षित गर्ने निश्चित छ ।
आयोजकले यसपटकको फेस्टिभललाई नेपाल-जापान व्यापार, पर्यटन र लगानीको सेतुका रूपमा पनि व्याख्या गरेका छन् । दुई देशका व्यवसायीहरूबीच नेटवर्क विस्तार र लगानीका सम्भावनाबारे छलफल हुने विशेष अवसर यहाँ सिर्जना गरिनेछ । यसका साथै, जापानमा जन्मिएका र हुर्किएका नेपाली मूलका बालबालिकाहरूलाई आफ्नो पुर्ख्यौली भाषा, संस्कृति र परम्परासँग जोड्न विशेष गतिविधिहरू समेत समावेश गरिएको छ, जसले प्रवासमा नेपाली पहिचानको निरन्तरता सुनिश्चित गर्नेछ ।
यस वर्षको फेस्टिभलको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको यसको सामाजिक उद्देश्य हो । एनआरएनए जापानका अध्यक्ष सुबास लामिछानेका अनुसार, फेस्टिभलबाट संकलित रकम चिबामा निर्माणाधीन ‘नेपाल हाउस’ परियोजनामा खर्च गरिनेछ । करिब २ करोड जापानी येन लागत अनुमान गरिएको उक्त परियोजनामा पशुपतिनाथ मन्दिर र बौद्ध स्तूपका प्रतिरूपहरू निर्माण गरिने योजना छ । यसले जापानमा नेपालको धार्मिक तथा सांस्कृतिक विरासतलाई जीवन्त राख्न मद्दत गर्नेछ ।
जापानी निकायहरू र स्थानीय समुदायको समेत सहकार्य रहेकाले यो फेस्टिभलले अन्तर्राष्ट्रिय स्तरको मानक तय गर्ने अपेक्षा गरिएको छ । हिमालदेखि लुम्बिनीसम्म र लोकबाजादेखि आधुनिक स्वादसम्मलाई एउटै थलोमा प्रस्तुत गरेर आयोजकले विश्वसामु नेपालको एउटा बलियो ‘ब्रान्ड इमेज’ बनाउने तयारी गरेका छन् । जुलाई १८ मा सुरु हुने यो तीन दिने उत्सवले जापान र नेपालबीचको कूटनीतिक सम्बन्धलाई जनस्तरमा थप प्रगाढ बनाउने र नेपाललाई विश्व पर्यटन मानचित्रमा थप चम्किलो पार्ने विश्वास लिइएको छ ।








