टोकियो – जापानमा स्थायी बसोबास (पिआर) को अनुमति वा १० वर्षभन्दा लामो अवधिको भिसा लिन चाहने विदेशी नागरिकहरूले अब अनिवार्य रूपमा जापानी भाषा र यहाँको जीवनशैलीका नियमहरूसम्बन्धी विशेष कोर्स पूरा गर्नुपर्ने भएको छ । सरकारद्वारा गठित एक उच्चस्तरीय परियोजना टोलीले गत जुलाई ३ मा बुझाएको प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको हो ।
जापानको अध्यागमन सेवा एजेन्सीको समेत जिम्मेवारी सम्हाल्नुभएका न्याय मन्त्रालयका संसदीय सचिव मामोरु फुकुयामाको नेतृत्वमा रहेको उक्त टोलीले जापानी नागरिकताका लागि आवेदन दिनेहरूको हकमा पनि यो कार्यक्रमलाई अनिवार्य बनाउन वा उनीहरूको बुझाइको स्तर परीक्षण गर्न सुझाव दिएको छ ।
धेरैजसो पश्चिमा मुलुकहरूमा आप्रवासीहरूका लागि सम्बन्धित देशको भाषा, मौलिक संस्कृति र आधारभूत नियमहरू सिक्नुपर्ने कानुनी व्यवस्था छ। तर, जापानमा हालसम्म यस्तो कुनै राष्ट्रिय मापदण्ड थिएन । अहिले विदेशीहरूलाई भाषा र संस्कार सिकाउने जिम्मेवारी स्थानीय निकाय वा उनीहरू कार्यरत कम्पनीहरूमा मात्र सीमित छ ।
हाल जापानमा करिब ४१ लाख विदेशी बासिन्दाहरू बसोबास गर्छन् । विदेशीहरूको सङ्ख्या बढ्दै जाँदा स्थानीय सरकारहरूमाथि थपिएको व्यवस्थापकीय भारलाई कम गर्न र विदेशीहरूलाई जापानी समाजमा घुलमिल हुन सजिलो बनाउन केन्द्र सरकारले नै यस्तो एकीकृत कार्यक्रम ल्याउन लागेको हो ।
सरकारी स्रोतका अनुसार यस कार्यक्रमको रूपरेखा र आवेदन प्रक्रिया पुष्टि गर्ने कम्प्युटर प्रणाली आर्थिक वर्ष २०२७ सम्ममा तयार गरिनेछ । सन् २०२८ देखि यसलाई परीक्षणका रूपमा लागू गरिने योजना छ । यद्यपि, यो पूर्ण रूपमा लागू हुनुअघि नै स्थायी बसोबास वा नागरिकताका लागि आवेदन दिनेहरूका हकमा निश्चित स्तरको जापानी भाषा दक्षता अनिवार्य गर्ने विषयमा पनि अध्यागमन विभागले विचार गरिरहेको छ ।
प्रस्तावित तालिममा केवल जापानी भाषा मात्र नभई दैनिक जीवनमा पालना गर्नुपर्ने नियम, शिष्टाचार र सामाजिक संस्कारहरू पनि समावेश गरिनेछ। विदेशीहरूले आफ्नो आवश्यकताअनुसार विभिन्न मोड्युलहरू रोज्न पाउनेछन् ।
- जापानमा सन्तान जन्म दिने प्रक्रिया र स्वास्थ्य सुविधा
- बालबालिकाको लालनपालन र विद्यालय शिक्षा प्रणाली
- वृद्धवृद्धाको हेरचाह र सामाजिक सुरक्षा
विदेशीहरूले जापान आउनुअघि नै आफ्नै देशबाट यसबारे अध्ययन गर्न सकून् भनेर ‘अनलाइन लर्निङ’ प्रणाली पनि स्थापना गरिने प्रतिवेदनमा उल्लेख छ । परियोजना टोलीले अन्य प्रकारका भिसामा रहेका विदेशीहरूलाई पनि यो कोर्स पूरा गर्न प्रोत्साहित गर्ने नीति लिएको छ । यो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नेहरूलाई रोजगारी खोजीमा प्राथमिकता दिने, भिसा नवीकरण गर्दा सहुलियत दिने वा आवासीय हैसियत परिवर्तनमा सहयोग गर्ने जस्ता ‘इन्सेन्टिभ’ दिने प्रस्ताव गरिएको छ ।
जापानले पछिल्लो समय श्रमिक अभाव टार्न विदेशीहरूका लागि ढोका खुल्ला गरे पनि, उनीहरूलाई नियम र संस्कार बुझाएर समाजमा सुरक्षित रूपमा स्थापित गराउनु आफ्नो प्रमुख दायित्व भएको सरकारको ठहर छ ।








