टोकियो – मध्य जापानको गिफु प्रान्तस्थित एक बौद्ध मन्दिरबाट ११ वटा ऐतिहासिक मूर्तिहरू चोरी भएका छन् । यामागता सहरमा रहेको ‘तोसेन्जी’ मन्दिरको मुख्य हलमा राखिएका ती मूर्तिहरू गायब भएपछि जापानी प्रहरीले तीव्र रूपमा अनुसन्धान अगाडि बढाएको छ ।
मन्दिरका पुजारीले शनिबार बिहान करिब ७ बजे मुख्य हलभित्र जाँदा मूर्तिहरू नरहेको फेला पारेका थिए । त्यसलगत्तै उनले प्रहरीलाई खबर गरेका हुन् । प्रहरीका अनुसार चोरी भएका ११ वटै मूर्तिहरू काठबाट निर्मित हुन् र तिनको उचाइ १५ देखि २५ सेन्टिमिटरको बीचमा रहेको छ ।
चोरी भएका मूर्तिहरूमध्ये बौद्ध धर्ममा निकै श्रद्धाका साथ पुजिने ‘जिजो बोसाचु’ भनिने सन्तको मूर्ति समेत रहेको छ । यी सबै मूर्तिहरू मन्दिरको मुख्य हलमा वर्षौँदेखि सुरक्षित राखिएका थिए ।
मन्दिरका पुजारीको निवास मन्दिर परिसरबाट करिब ५० मिटरको दूरीमा रहेको छ । उनले प्रहरीलाई दिएको बयानअनुसार, उनी हरेक रात मन्दिरमा विधिपूर्वक पूजा-अर्चना गरेर मुख्य ढोकामा ताल्चा लगाउने गर्दथे । पुजारीले गत जुन २८ सम्म ती मूर्तिहरू मन्दिरमै सुरक्षित रहेको पुष्टि गरेका छन् ।
आफ्नो आस्थाको केन्द्रमा भएको यो चोरीले पुजारी निकै मर्माहत भएका छन् । उनले भने, ‘जिजो बोसाचु त्यस्ता देवता हुन् जसले मानिसहरूलाई नराम्रो काम गर्नबाट रोक्छन् र सुरक्षा दिन्छन् । मलाई विश्वास छ, चोरी गर्नेलाई जिजो बोसाचुले पक्कै देखेका होलान् ।’ उनले ती बहुमूल्य मूर्तिहरू चाँडोभन्दा चाँडो मन्दिरमा फिर्ता आऊन् भन्ने कामना गरेका छन् ।
जापानका ग्रामीण भेगमा रहेका मन्दिरहरूमा सुरक्षा व्यवस्था कम हुने मौका छोपी पछिल्लो समय बहुमूल्य र ऐतिहासिक कलाकृतिहरू चोरी हुने क्रम बढ्न थालेकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।








