Deneme Bonusu Veren Siteler
शनिबार, असार १३, २०८३
Saturday, June 27, 2026

काठमाडौं – नेपाली राजनीतिका चतुर खेलाडी एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समयको मौनता चिर्दै विराटनगरबाट एउटा गम्भीर राजनीतिक शङ्खघोष गरेका छन् । केही समययता रक्षात्मक देखिएका प्रचण्डले एमालेसँग तत्काल कार्यगत एकता हुने र आफू प्रमुख प्रतिपक्षी दलको नेता बन्न चाहेको खुलाउँदै अन्तिम क्रमभंगताका लागि तयार रहन आग्रह गरे ।

पूर्वप्रधानमन्त्री एवं पार्टीका सहसंयाेजक माधवकुमार नेपाललाई साथमा लिएर विराटनगर पुगेका प्रचण्डले दिएको अभिव्यक्तिले सत्ता समीकरण र भावी राजनीतिक ध्रुवीकरणमा नयाँ तरंग पैदा गरिदिएको छ । विराटनगर पुगेसँगै प्रचण्ड र माधव नेपाल सिधै कोइराला निवास पुग्नु आफैँमा अर्थपूर्ण थियो । नेपाली कांग्रेसभित्र संस्थापन इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइरालासँगको झण्डै एक घण्टा लामो बसाइ र आधा घण्टाको ‘वान-टु-वान’ वार्ताले वर्तमान दुई-तिहाइको सरकारविरुद्ध नयाँ ‘मोर्चाबन्दी’ को खाका तयार भइरहेको संकेत गरेको छ ।

प्रदेश स्तरीय एकता बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले करिब ४० मिनेटको भाषणमा भू-राजनीतिक संवेदनशीलता र वैदेशिक हस्तक्षेपको मुद्दालाई मुख्य केन्द्रविन्दु बनाए । उनले नाम नलिई अमेरिका (सुपरपावर) तर्फ लक्षित गर्दै नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न दीर्घकालीन रणनीतिक खेल भइरहेको दाबी गरे । प्रचण्डको विश्लेषण थियो, ‘हामी ट्याक्टिकल (कार्यनीतिक) भयौँ, तर वैदेशिक शक्तिहरू रणनीतिक भए ।’१२ बुँदे समझदारी र शान्ति सम्भौता भाँड्न हिजो दिल्लीसम्म पुगेर भिटो प्रयोग गर्ने शक्तिहरू अहिले नेपाललाई १५-२० वर्षपछि कहाँ पुर्‍याउने भन्ने योजनासहित सक्रिय रहेको उनको जिकिर थियो । उनले टिओबी, युथ काउन्सिल र बार्बरा फाउन्डेसनजस्ता संस्थाहरूलाई विदेशी शक्तिको रणनीतिक हतियारका रूपमा चित्रण गर्दै तिनले कम्युनिष्ट आन्दोलनको जग खनेको आरोप लगाए । संसद्मा चौथो शक्तिका रूपमा खुम्चिए पनि प्रचण्डको आत्मविश्वासमा भने कुनै ह्रास देखिएको छैन । उनले स्पष्ट शब्दमा भने, ‘देशको नेतृत्व फेरि पनि हामीले नै गर्नुपर्नेछ, किनकि सम्भावना अरूसँग छैन ।’

समाजवादी मोर्चामा रहेका दलहरूसँगको एकता र एमालेसँगको कार्यगत एकतालाई उनले अबको मुख्य कार्यभार बताए । ‘पार्लियामेन्ट (संसद्), सडक र आगामी निर्वाचनमा एमालेसँग सहकार्यको सहमति हुँदैछ,’ उनले थपे, ‘यो मेरो व्यक्तिगत विचार होइन, केन्द्रीय संयोजन समितिबाट पारित नीति हो ।’ उनले अगाडि भने, ‘हिजो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सहकार्य गरेका नेपाली कांग्रेस, एमाले, मधेसी दल, जनमोर्चा लगायत सबै शक्तिसँग मोर्चा बनाएर लड्ने कुरा हामीले अघि सारेका छौँ, यस दिशामा सबैसँगको छलफल सकारात्मक रूपमा अघि बढेको छ ।’

प्रचण्डको भाषणको सबैभन्दा रोचक र रहस्यमय पक्ष ‘क्रमभङ्ग’ को मुद्दा थियो । ‘क्रमभङ्ग’ प्रचण्डको राजनीतिक शब्दावलीमा एउटा चिनारी नै बनिसकेको छ । यसपटक उनले आफ्ना कार्यकर्तालाई ‘अन्तिम क्रमभङ्ग’ हेर्न तयार रहन आग्रह गरे । ‘बौद्ध भिक्षुजस्तो घन्टी बजाएर बस्ने प्रचण्ड-माधवहरू होइनन् भन्ने बुझ्नुहोला,’ भन्दै उनले आफ्नो विद्रोही स्वभाव अझै जीवित रहेको सन्देश दिएका हुन् ।अर्को ठूलो उथलपुथल (क्रमभङ्ग) गरिने र त्यो आफ्नो राजनीतिक जीवनको अन्तिम तर निर्णायक धक्का हुने उनले बताए । ‘नेतृत्वले छोड्दैन भन्ने टेन्सन छोडिदिनुस्, अब पार्टी नेतृत्व तपाईंहरूको हातमा आयो,’ भन्दै उनले योग्य र नयाँ साथीहरूलाई जिम्मेवारी लिन अपिल गरे ।

सामाजिक सञ्जालमा आफ्नै कार्यकर्ताबाट भइरहेको आलोचनाप्रति प्रचण्ड निकै सचेत देखिए । उनले फेसबुकमा गरिने गाली र आक्रोशलाई सहज रूपमा लिँदै कार्यकर्ताको भरोसा नै आफ्नो शक्ति भएको बताए । कार्यकर्ताको रिसलाई उनले भावनात्मक सम्बन्धको कसीका रूपमा व्याख्या गरे, जसले नेतृत्व र भुइँ तहका कार्यकर्ताबीचको खाडल पुर्ने प्रयास गरेको देखिन्छ ।

विराटनगरको यो दौडधुप र प्रचण्डको गर्जनले नेपाली राजनीतिमा अबको केही समय ‘पख र हेर’ को अवस्था सिर्जना गरेको छ । एकातिर कांग्रेसका शेखर कोइरालासँगको संवाद र अर्कोतिर एमालेसँगको सहकार्यको घोषणाले प्रचण्डले सत्ताको साँचो फेरि पनि आफ्नो वरिपरि घुमाउन खोजेको संकेत गर्छ । के प्रचण्डले भनेझैँ अबको ‘क्रमभङ्ग’ ले नेपालको राजनीतिलाई नयाँ दिशा दिनेछ वा यो केवल राजनीतिक अस्तित्व जोगाउने अर्को कार्यनीति मात्रै हुनेछ ? यसको जवाफ भने आगामी दिनमा हुने पार्टी, संसद् र सडकका गतिविधिले दिनेछन् ।

तपाईको प्रतिक्रिया