टोकियो – जापानको दक्षिण–पश्चिमी क्षेत्र क्युशु लगायतका विभिन्न भूभागमा मुसलधारे वर्षाले जनजीवन प्रभावित पारेको छ । दुईवटा शक्तिशाली आँधीहरू जापानतर्फ सोझिएकाले बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेको भन्दै मौसम विभागले ‘हाई अलर्ट’ जारी गरेको छ ।
जापानी द्वीपमाथि मौसमी वर्षाको प्रणाली स्थिर रहेका कारण आँधी आउनुपूर्व नै मुसलधारे वर्षा सुरु भएको हो । तातो र ओसिलो हावाका कारण विकसित भएका बादलहरूले यतिबेला जापानको पश्चिमी र मध्य भूभागलाई ढाकेको छ ।
शुक्रबार बिहानसम्मको तथ्याङ्क अनुसार कोची प्रान्तको कामी सहरमा प्रतिघण्टा ६४.५ मिलिमिटर र कुमामोटो प्रान्तको इचुकी गाउँमा ४६ मिलिमिटर भीषण वर्षा रेकर्ड गरिएको छ । प्रतिकूल मौसमका कारण पश्चिमी र दक्षिण-पश्चिमी जापानका धेरै ठाउँमा पहिरो जान सक्ने भन्दै ‘स्तर ४’ को विशेष चेतावनी जारी गरिएको छ । कतिपय तल्लो तटीय क्षेत्रमा बाढी र डुबानको समेत उत्तिकै जोखिम रहेको अधिकारीहरूले बताएका छन् ।
१. आँधी ‘मेखाला’ : शक्तिशाली उष्णप्रदेशीय आँधी मेखाला यतिबेला ओकिनावा प्रान्तको नजिक पुगेको छ । ओकिनावाका केही भागहरू अहिले नै आँधीको प्रभाव क्षेत्रभित्र परिसकेका छन् । शुक्रबार दिउँसोसम्म ओकिनावामा भीषण वर्षा गराउने ‘रेनब्यान्ड’ विकसित हुन सक्ने र यसले प्राकृतिक विपद्को जोखिमलाई ह्वात्तै बढाउने चेतावनी दिइएको छ ।
२. आँधी ‘हिगोस’ : अर्को उष्णप्रदेशीय आँधी ‘हिगोस’ शनिबार पूर्वी जापानतर्फ पुग्ने प्रक्षेपण गरिएको छ । यसले पनि मौसमी वर्षाको प्रणालीलाई थप सक्रिय बनाई देशका विभिन्न भागमा भारी वर्षा गराउने देखिएको छ ।
जापान मौसम विज्ञान विभागले पहिरो, तल्लो क्षेत्रमा डुबान र नदीहरूको जलस्तर बढेर हुन सक्ने कटानप्रति अत्यन्तै सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ । वर्षासँगै चट्याङ पर्न सक्ने, तीव्र हावा चल्ने र ‘टोर्नाडो’ (भुमरी) समेत आउन सक्ने भएकाले मानिसहरूलाई सुरक्षित भवनभित्रै रहन र मौसमसम्बन्धी पछिल्लो जानकारी लिइरहन सूचित गरिएको छ ।








