टोकियो – जापानको टोकियोस्थित सिबुयामा नयाँ जारी गरिएको आवासीय अनुमति पत्र (रेसिडेन्स कार्ड) का बारेमा जानकारी नहुँदा प्रहरीले एक नेपाली युवकलाई गलत तरिकाले पक्राउ गरेको छ । नयाँ स्वरूपको परिचयपत्रलाई ‘नक्कली’ ठानेर प्रहरीले २० वर्ष उमेर समूहका ती नेपालीलाई बिहीबार बिहान नियन्त्रणमा लिएको थियो ।
बिहीबार बिहान टोकियोको व्यस्त पर्यटकीय क्षेत्र सिबुयाको सडकमा गस्तीमा रहेका प्रहरी अधिकारीहरूले शङ्का लागेर ती युवकलाई रोकी सोधपुछ गरेका थिए । सो क्रममा प्रहरीले परिचयपत्र माग गर्दा उनले आफ्नो सक्कली ‘रेसिडेन्स कार्ड’ देखाएका थिए । तर, फिल्डमा खटिएका ती प्रहरी अधिकारीहरूलाई जापान सरकारले हालै मात्र प्रचलनमा ल्याएको नयाँ डिजाइनको कार्डबारे जानकारी थिएन । उनीहरूले सो कार्ड नक्कली भएको दाबी गर्दै उनलाई घटनास्थलमै हतकडी लगाएर पक्राउ गरे ।
पक्राउ परेपछि ती नेपाली युवकलाई प्रहरी कार्यालय पुर्याइयो । त्यहाँ करिब एक घण्टा हिरासतमा राखेपछि अर्का एक वरिष्ठ प्रहरी अधिकारीले सो परिचयपत्र जाँच गर्दा त्यो जुन १४ देखि मात्र जारी हुन थालेको नयाँ र वैधानिक कार्ड भएको पुष्टि भयो । कार्ड सक्कली भएको थाहा पाउने बित्तिकै प्रहरीले उनलाई हिरासतमुक्त गरेको थियो ।
टोकियो महानगरीय प्रहरी विभागले नयाँ रेसिडेन्स कार्ड लागू हुनुअघि आफ्ना कर्मचारीहरूलाई यसबारे सचेत गराउन पटक-पटक तालिम र जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गरेको दाबी गरेको थियो । यति हुँदाहुँदै पनि फिल्डमा खटिएका कर्मचारीको अनभिज्ञताका कारण एक निर्दोष विदेशी नागरिकले सास्ती बेहोर्नुपरेको हो ।
घटनापछि महानगरीय प्रहरीले सार्वजनिक रूपमा माफी माग्दै भनेको छ, ‘हामी यस घटनाप्रति अत्यन्तै दुःखी छौँ र पीडित युवकसँग हृदयदेखि नै क्षमायाचना गर्दछौँ । भविष्यमा हाम्रा कर्मचारीहरूबाट यस्ता गल्ती दोहोरिन नदिन हामी कडा निर्देशन जारी गर्नेछौँ ।’
जापानमा बस्ने विदेशीहरूका लागि रेसिडेन्स कार्ड सबैभन्दा महत्त्वपूर्ण कागजात हो । यस्तो संवेदनशील विषयमा सुरक्षाकर्मी नै अनभिज्ञ हुँदा यहाँ बसोबास गर्ने नेपाली लगायतका विदेशी समुदायमा सुरक्षा र कानुनी प्रक्रियाप्रति चिन्ता बढेको छ ।








