Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

टोकियो – जापानमा जन्मदरमा आएको निरन्तरको गिरावट रोकिने कुनै सङ्केत देखिएको छैन । हालै सार्वजनिक तथ्याङ्कले मुलुकको भविष्यलाई नै चुनौती दिने गरी बालबालिकाको जन्म सङ्ख्या घटेपछि सरकारले आफ्ना पुराना नीति र रणनीतिहरूमा आमूल परिवर्तन गर्नुपर्ने दबाब बढेको छ ।

सन् २०२५ मा जापानको ‘कुल प्रजनन दर’ (एक महिलाले आफ्नो जीवनकालमा जन्माउन सक्ने सन्तानको औसत सङ्ख्या) लगातार १०औँ वर्ष घट्दै १.१४ को ऐतिहासिक न्यून विन्दुमा झरेको छ । गत वर्ष कुल ६,७१,२३६ शिशुको मात्र जन्म भयो, जुन हालसम्मकै सबैभन्दा कम हो । डरलाग्दो कुरा के छ भने, जन्मदरमा देखिएको यो गिरावट सरकारी प्रक्षेपणभन्दा १५ वर्ष अगावै यो भयावह स्थितिमा आइपुगेको छ ।

तत्कालीन प्रधानमन्त्री फुमियो किसिदाको सरकारले ‘जन्मदर बढाउन अभूतपूर्व कदम’ भन्दै बाल भत्ता विस्तार लगायतका आर्थिक सहयोगका कार्यक्रम ल्याएको थियो । तर, ती नीतिहरूले सकारात्मक नतिजा दिन सकेनन् । यसले के प्रस्ट पार्छ भने, केवल नगद बाँडेर मात्र युवा पुस्तालाई सन्तान उत्पादनतर्फ आकर्षित गर्न सम्भव छैन ।निजी क्षेत्रका सर्वेक्षणहरूले देखाएअनुसार धेरै जापानी युवाहरू आर्थिक असुरक्षाका कारण विवाह गर्न वा सन्तान जन्माउन डराइरहेका छन् । कम्पनीहरूले तलब त बढाएका छन्, तर त्यो महँगी (मुद्रास्फीति) को तुलनामा निकै कम छ । तथ्याङ्कअनुसार ‘अस्थायी वा करार’मा काम गर्ने पुरुषहरूमा अविवाहित रहने दर निकै उच्च छ  । सरकारले स्थायी र अस्थायी कर्मचारीबीचको यो विभेद हटाउन र सबैका लागि स्थिर आय सुनिश्चित गर्न थप लगानी गर्नु पर्ने देखिन्छ ।

विकसित देशहरूको समूहमध्ये जापानले उच्च शिक्षामा गर्ने सरकारी खर्च निकै कम छ । नतिजास्वरूप, धेरै युवाहरू ऋण लिएर पढ्न बाध्य छन् । जागिर खाएपछि पनि वर्षौँसम्म ‘छात्रवृत्ति ऋण’ तिर्नुपर्ने भारले उनीहरूलाई पारिवारिक जीवन सुरु गर्नबाट रोकिरहेको छ । यसैगरी, सहरी क्षेत्रमा घरजग्गाको मूल्य अकासिनु अर्को ठूलो चुनौती हो । सन्तान भएका परिवारका लागि सुपथ मूल्यमा आवास र सहुलियतपूर्ण गृह-कर्जाको व्यवस्था गर्नु अहिलेको अनिवार्य आवश्यकता बनेको छ ।जापानी समाजमा अझै पनि सन्तान हुर्काउने मुख्य जिम्मेवारी महिलाको मात्र हो भन्ने सोच हावी छ। कार्यस्थलमा पुरुषहरूलाई ‘पितृत्व बिदा’ लिन प्रोत्साहन गर्ने वातावरणको अभाव छ । कम्पनीहरूले आफ्नो ‘कार्यशैली सुधार’लाई कागजमा मात्र सीमित नराखी व्यवहारमै लागू गर्नुपर्ने जिम्मेवारी आएको छ ।

वर्तमान प्रधानमन्त्री सानाए ताकाइचीको प्रशासनले यी संरचनागत समस्याहरूलाई सिधै सम्बोधन गर्ने ठोस संकेत अझै देखाएको छैन । जापानको ‘बालबालिकाको भविष्य रणनीति’ले सन् २०३० सम्ममा बजेट दोब्बर पार्ने लक्ष्य त राखेको छ, तर आगामी आर्थिक वर्षदेखि लागू हुने गरी प्रभावकारी र परिणाममुखी योजना ल्याउनु सरकारका लागि अग्निपरीक्षा हुनेछ ।

तपाईको प्रतिक्रिया