Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कमजोर प्रदर्शनपछि प्रमुख प्रतिपक्ष दलहरूभित्र आन्तरिक विवाद तीव्र बन्दै गएको छ । चुनावी परिणामसँगै नेतृत्व, नीति र कार्यशैलीबारे फरक–फरक धार देखिन थालेका छन् । 

नेपाली कांग्रेसभित्र संस्थापन र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच दूरी बढ्दै गएको छ । पार्टी अनुशासन समितिले पूर्वउपसभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण मागेपछि विवाद थप चर्किएको हो । समितिका संयोजक तारामान गुरुङको नेतृत्वमा बसेको बैठकमा खड्काले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत रूपमा विज्ञप्ति जारी गरेको ठहर गर्दै सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । खड्काले भने अनुशासन समितिको निर्णय नमान्ने र कुनै स्पष्टीकरण नबुझाउने घोषणा गरेका छन्, जसले कांग्रेसभित्रको आन्तरिक विवादलाई अझ गहिरो बनाएको छ ।

उता नेकपा एमालेभित्र उपाध्यक्ष रामबहादुर थापा संसदीय दलको नेता चयन भएपछि सुरु भएको अन्तरसंघर्ष झन् चर्किएको छ । महासचिव शंकर पोखरेलसँगको सहकार्यमा पार्टी पुनर्गठनको प्रस्ताव ल्याउने तयारी भइरहेका बेला बौद्धिक परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले सुरु गरेको हस्ताक्षर अभियान स्थगित गर्न निर्देशन दिइएको छ । जेन–जी आन्दोलनसँग सम्बन्धित घटनामा लापरवाही गरेको आरोपमा अध्यक्ष केपी शर्मा ओली चैत १४ मा पक्राउ परेपछि थापाले कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएका छन्, जसले पार्टीभित्र शक्ति सन्तुलनमा थप तनाव सिर्जना गरेको छ ।

चैत १८ मा संसदमा बोल्दै थापाले तत्कालीन सरकार, नेपाली सेना, कर्मचारीतन्त्र र केही गैरसरकारी संस्थाप्रति दिएको अभिव्यक्तिपछि एमालेभित्र विवाद अझ गहिरिएको छ । उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष गोकर्ण बिष्ट, उपमहासचिव योगेश भट्टराई तथा नेता सुरेन्द्र पाण्डेलगायतले थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । चैत १९ को सचिवालय बैठकमा थापाले आफूले पार्टीको आधिकारिक धारणा राखेको दाबी गरेका थिए भने अन्य नेताहरूले सुरक्षा निकाय र कर्मचारीतन्त्रप्रति गरिएको टिप्पणीको खण्डन गर्नुपर्ने माग राखेका थिए । यस विषयमा सचिवालयले गम्भीर छलफल गरेको उल्लेख गर्दै सम्बन्ध पूर्ववत् कायम रहने जनाएको छ ।

यसबीच थापाले पोखरामा आयोजित कार्यक्रममा सरकारलाई ‘शत्रु’को संज्ञा दिँदै अझ कडा अभिव्यक्ति दिएपछि विवाद थप चर्किएको छ । उनले कम्युनिस्ट आन्दोलनका प्रमुख नेता ओलीलाई कैद गरिएको भन्दै सरकारविरुद्ध कडा आलोचना गरेका थिए । उपमहासचिव लेखराज भट्टले भने थापाले पार्टीको धारणा राखेकाले त्यसमा आपत्ति आवश्यक नभएको बताएका छन् । उता पौडेल निकट नेता खिमलाल भट्टराईले थापाको भाषा शैलीप्रति आपत्ति जनाउँदै संसदीय दलको नेताको हैसियतअनुसार अभिव्यक्ति नभएको टिप्पणी गरेका छन् ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि नयाँ वर्ष सन्देशमार्फत चुनावमा कमजोर भएका दलहरूले परिणामको गम्भीर समीक्षा गरी संयम र अनुशासनका साथ अघि बढ्नुपर्ने सुझाव दिएकी छन् । पछिल्लो समय उनले विभिन्न राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छन्, जसबारे उनका निकट भेषराज अधिकारीले यसलाई सामान्य राजनीतिक गतिविधि बताएका छन् ।

यसैबीच नेकपाभित्र नेतृत्व हस्तान्तरण र महाधिवेशनबारे बहस चलिरहेको छ । नेता अग्नि सापकोटाले पार्टी एकतापछि बाँकी रहेका संगठनात्मक काम टुंग्याएर महाधिवेशनको मिति तय गर्ने तयारी भइरहेको बताएका छन् । वाग्मती प्रदेश अध्यक्ष सरल सहयात्रीले पनि नेतृत्व पुस्तान्तरणबारे अनौपचारिक बहस चलिरहेको र औपचारिक प्रक्रियामा लैजाने तयारी भइरहेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पनि विवाद चर्किएको छ । महामन्त्री धवल शमशेर राणा पक्षले जेठभित्र महाधिवेशन गर्नुपर्ने माग गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई दबाब दिईरहेका छन् । यसबारे छलफल गर्न बैशाख १६ मा केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । राणा पक्षले महाधिवेशनको मिति एक साताभित्र घोषणा गर्न अल्टिमेटम दिएको छ भने प्रवक्ता मोहन श्रेष्ठले सबै विषय केन्द्रीय समितिमै छलफल हुने बताएका छन् ।

समग्रमा चुनावी हारपछि प्रतिपक्ष दलहरूभित्र नेतृत्वप्रति असन्तुष्टि, नीति र कार्यशैलीमा मतभेद तथा पुनर्गठनको दबाब बढ्दै गएको देखिन्छ । राजनीतिक विश्लेषकहरूका अनुसार यदि यी दलहरूले समयमै आन्तरिक विवाद समाधान गर्न सकेनन् भने आगामी दिनमा उनीहरूको प्रभाव अझ कमजोर हुन सक्नेछ ।***

तपाईको प्रतिक्रिया