काठमाडौँ – इस्लामाबादमा अमेरिका र इरानबीच भएको उच्चस्तरीय शान्ति वार्ता कुनै ठोस निष्कर्ष बिना समाप्त भएको छ। वार्तापछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले दुवै पक्षबीच सहमति हुन नसकेको जानकारी दिएका हुन्। उनका अनुसार करिब २१ घण्टासम्म चलेको छलफलपछि पनि कुनै साझा निर्णयमा पुग्न नसकिएकाले वार्ता टुंगिएको हो।
उनले आफू नेतृत्व गरेको अमेरिकी प्रतिनिधिमण्डल अब स्वदेश फर्किने जानकारी समेत दिए। मध्यपूर्वमा बढ्दो तनाव कम गर्ने उद्देश्यले गरिएको यो वार्ता महत्वपूर्ण मानिएको थियो। तर सहमति नजुट्दा दुई देशबीचको दूरी अझ बढ्ने संकेत देखिएको छ।
विश्लेषकहरूले यस घटनाले क्षेत्रीय अस्थिरता थप चर्किन सक्ने, साथै ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा समेत असर पर्न सक्ने बताएका छन्। अब आगामी कूटनीतिक प्रयास कस्तो हुन्छ भन्नेमा अन्तर्राष्ट्रिय चासो बढेको छ।








