काठमाडौं – पूर्वगृहमन्त्री रमेश लेखक १३ दिनको हिरासतपछि रिहा भएका छन्। हाजिरी जमानीमा बिहीबार हिरासतमुक्त भएका कांग्रेस नेता लेखकले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफू रिहा भएको जानकारी गराउँदै यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
लेखकले आफूलाई आधारहीन र पूर्वाग्रही प्रतिवेदनका आधारमा पक्राउ गरिएको दाबी गरेका छन्। जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि बनेको आयोगको प्रतिवेदन अपूर्ण र प्रतिशोधपूर्ण रहेको उनको आरोप छ। रिहाइपछि उनले आफ्नो पक्षमा आवाज उठाउने सबैलाई धन्यवाद दिएका छन्। कानुन व्यवसायी, अधिकारकर्मी, राजनीतिक दलका नेता तथा सञ्चारकर्मीप्रति उनले आभार व्यक्त गरेका छन्।
साथै, सर्वोच्च अदालतको आदेशप्रति सम्मान व्यक्त गर्दै उनले आफू कानुनमा विश्वास गर्ने बताएका छन्। आगामी दिनमा कानुनी र राजनीतिक रूपमा आफ्नो लडाइँ जारी राख्ने पनि उनले स्पष्ट पारेका छन्।








