
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्यवृद्धिका कारण निगममा बढ्दो घाटा नियन्त्रण गर्न नयाँ मूल्य समायोजन गरिएको जनाएको छ ।
नयाँ समायोजनअनुसार पेट्रोलको मूल्य प्रति लिटर १७ रुपैयाँले बढाइएको छ भने डिजेल तथा मट्टितेलमा प्रति लिटर २५ रुपैयाँ वृद्धि गरिएको छ । यससँगै पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ ।
निगमका अनुसार भन्सार महसुल तथा पूर्वाधार विकास कर समायोजनपछि पनि ठूलो घाटा कायम रहेको छ। हाल पेट्रोलमा प्रति लिटर १६.६५ रुपैयाँ, डिजेलमा १०९.५० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ४१६.३७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । समग्रमा निगमलाई पाक्षिक रूपमा करिब १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ घाटा हुने अवस्था रहेको छ ।
यद्यपि पूर्ण लागतअनुसार मूल्य नबढाई आंशिक समायोजन मात्र गरिएको निगमले स्पष्ट पारेको छ । सोही अनुसार एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँ वृद्धि गरिएको छ भने आन्तरिक हवाई इन्धनमा प्रति लिटर ६ रुपैयाँले मूल्य बढाइएको छ ।
अब १४.२ केजी एलपी ग्यासको मूल्य २०१० रुपैयाँ पुगेको छ । मूल्य समायोजनपछि पनि निगमलाई अझै पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ ।
निगमले घाटा निरन्तर बढ्दै गए इण्डियन आयल कर्पोरेशनलाई भुक्तानीमा असर पर्ने र इन्धन आपूर्तिमा समस्या आउन सक्ने चेतावनी दिएको छ । साथै, उपभोक्तालाई पेट्रोलियम पदार्थको मितव्ययी प्रयोग गर्न आग्रह गरिएको छ ।








