समाचार सुन्नुहोस :
काठमाडौँ – इजरायली सेनाका अधिकारीले हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी दिएका छन्। इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र सेनाका कमाण्डरहरूले अमेरिकामा रहेका विपिनकी आमा र बहिनीलाई तथा नेपालमा रहेका उनका आफन्तलाई यो जानकारी गराएको जोशी परिवारका निकट पण्डितले बताएका छन्।
कञ्चनपुरका विपिन जोशी अध्ययनका लागि इजरायल पुगेका थिए। गत अक्टोबर ७, २०२३ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धक बनेका थिए। त्यस घटनामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। हमासका लडाकुहरूले विपिनलाई आफूसँगै गाजा क्षेत्रतर्फ लगेका थिए।
पछिल्लो पटक विपिनलाई सन् २०२३ नोभेम्बर १७ मा गाजाको अल शिफा अस्पतालमा देखिएको थियो। त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको थिएन। विपिनको अवस्थाबारे पत्ता लगाउन नेपाल सरकारले पहल गरेको थियो। सो क्रममा विपिनकी आमा र बहिनी इजरायल पुगेका थिए। हाल उनीहरू अमेरिका रहेका छन्।








