टोकियो – जापानमा ‘वर्किङ’ (कार्य भिसा)मा काम गरिरहेका हजारौं नेपालीहरूलाई आफ्नो भिसाको ‘नाइयो’ (कार्य विवरण वा तोकिएको कामको क्षेत्र) र वास्तविक कामबीचको तालमेल नमिल्दा गम्भीर समस्याको सामना गर्नुपरेको छ । जापानको अध्यागमन विभागले हालसालै नियमहरूलाई कडा पारेसँगै भिसामा उल्लेखित कामभन्दा फरक काम गरिरहेका विदेशी कामदारहरूको भिसा खारेज गरी ३० दिनभित्र जापान छोड्न आदेश दिन थालेको छ । यसले गर्दा धेरै नेपाली परिवारहरू अलपत्र पर्ने जोखिममा परेका छन् ।
हालै एककाे अन्तरालमा कम्तीमा तीन जना नेपालीहरूले ‘नाइयो’ नमिल्दा भिसा खारेजीको समस्या भोगेको छ । लामो समयदेखि जापानमा काम गरिरहेका भए पनि उनीहरूले भिसाको प्रकृतिअनुसारको काम नगरेका कारण अध्यागमनले उनीहरूलाई ३० दिने ‘जुम्बी भिसा’ (देश छाड्ने तयारी भिसा) दिएर नेपाल फर्काइदिएको थियो ।
के हो ‘नाइयो’ को समस्या ?
जापानमा विदेशी कामदारले पाएको कार्य भिसाको ‘नाइयो’ भन्नाले भिसा जारी गर्दा जुन विशिष्ट प्रकारको काम गर्न अनुमति दिइएको हुन्छ, सोही काम गर्नुपर्ने अनिवार्य शर्त हो । उदाहरणका लागि, यदि कुनै व्यक्तिलाई ‘आईटी इन्जिनियर’को भिसामा जापान प्रवेशको अनुमति दिइएको छ भने उसले जापानमा आईटी क्षेत्रमै काम गर्नुपर्छ । तर, समस्या तब उत्पन्न हुन्छ जब यी कामदारहरू भिसाको ‘नाइयो’ विपरीत रेस्टुरेन्टको भान्सामा, होटलमा वा अन्य गैर-सम्बन्धित क्षेत्रमा काम गर्न थाल्छन् ।
धेरै जनाको भिसा एउटा हुन्छ, काम अर्कैतिर गरिरहेका हुन्छन् । आईटी इन्जिनियरको भिसा लिएर रेस्टुरेन्टको किचनमा वा होटलमा काम गरिरहेका नेपालीहरू धेरै छन् । यस्तो अवस्थामा अध्यागमनबाट फोन आयो भने सोझो व्यक्तिहरूले ‘म त रेस्टुरेन्टमा काम गर्छु’ भनिदिन्छन्, अनि कुरा मिल्दैन । कम्पनीले एउटा कुरा भनेको हुन्छ, काम गर्ने मान्छेले अर्को भनेको हुन्छ । यही कारणले गर्दा धेरै नेपालीहरूको भिसा समस्या वा भिसा खारेज भएको छ ।
अध्यागमनको कडा निगरानी र परिणाम
अध्यागमन विभागले भिसा नवीकरण वा परिवर्तनका बेला कामदारको कार्यक्षेत्र र कम्पनीको विवरणमा शङ्का लागेमा सीधा फोन गरेर विस्तृत प्रश्नहरू सोध्न थालेको छ । यस क्रममा कामदारको वास्तविक काम र भिसाको ‘नाइयो’ बीच भिन्नता पाइएमा अध्यागमनले तत्काल कारबाही अगाडि बढाउने गर्छ ।
फोनमा सोधिने प्रश्नहरूमा ‘तपाईं के काम गर्नुहुन्छ ?’, ‘तपाईंको नाइयो के हो ?’, ‘कुन कम्पनीमा काम गर्नुहुन्छ ?’, ‘कति बजेदेखि कति बजेसम्म काम गर्नुहुन्छ ?’, ‘तपाईंको स्टाफहरू कति छन् ?’ जस्ता विषयहरू समावेश हुन्छन् । यदि यी प्रश्नहरूको उत्तर भिसा आवेदनमा उल्लेखित विवरणसँग मेल खाएन भने भिसा खारेज हुने जोखिम उच्च हुन्छ ।
लामो समयदेखि जापानमा बसोबास गरिरहेका, जापानी स्कुलमा बालबच्चालाई पढाइरहेका, घर (अपार्टमेन्ट) लिएका र परिवारसहित स्थापित भएका नेपालीहरूका लागि यो समस्या झन् पीडादायी बनेको छ । आठ-दस वर्षको अवधिपछि भिसा खारेज भई स्वदेश फर्कनुपर्ने अवस्था आउनुले उनीहरूको जीवनमा ठूलो असर पारेको छ ।
जानकारहरुको सल्लाह
यस्तो अप्रत्याशित समस्याबाट बच्न जापानमा कार्यरत सबै नेपाली कामदारहरूलाई उच्च सचेतना अपनाउन आग्रह गरिएको छ । निम्न कुराहरूमा विशेष ध्यान दिनु आवश्यक छ :-
- ‘नाइयो’ बारे पूर्ण जानकारी: आफूले कुन भिसामा काम गरिरहेको छु र सो भिसाले कुन प्रकारका गतिविधिहरूलाई अनुमति दिन्छ भन्ने बारेमा पूर्ण र सही जानकारी राख्नुहोस् । आफ्नो पद, कम्पनी र कामको प्रकृतिबारे स्पष्ट हुनुहोस् ।
- कम्पनीसँग समन्वय: आफ्नो रोजगारदाता कम्पनीको हेड अफिस (होन्शा) सँग भिसाको ‘नाइयो’ र आफूले गरिरहेको वास्तविक कामबारे छलफल गर्नुहोस् । यदि भिसा र कामको विवरण फरक छ भने त्यसलाई सुधार्ने प्रयास गर्नुहोस् वा आवश्यक कानूनी परामर्श लिनुहोस् ।
- अध्यागमनको फोनका लागि तयारी: अध्यागमनबाट फोन आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर तयार रहनुहोस् । आफ्नो काम, कम्पनीको विवरण, कार्यतालिका र जिम्मेवारीहरू बारे स्पष्ट रूपमा जानकारी दिन सक्नेगरी अभ्यास गर्नुहोस्। कुनै पनि गलत वा असत्य जानकारी नदिनुहोस् ।
- कानूनी परामर्श: यदि आफ्नो भिसाको ‘नाइयो’ वा कार्य विवरणबारे कुनै शङ्का वा अन्योल भएमा तत्काल अनुभवी अध्यागमन अधिवक्ता वा प्रशासनिक परामर्शदाता (Administrative Scrivener) सँग सम्पर्क गर्नुहोस् । उनीहरूले सही दिशा निर्देश गर्न सक्छन् ।








