टोकियो – एक गम्भीर साइबर आक्रमणका कारण जापानी बिअर तथा पेय पदार्थको विशाल उत्पादक असाही ग्रूप होल्डिङ्सको जापानस्थित सञ्चालन एक सातादेखि प्रभावित भएको छ । गत सेप्टेम्बर २९ को बिहान कम्पनीका सर्भरहरूमा भएको र्यान्समवेयर आक्रमणले यसको अर्डर प्रक्रिया, उत्पादन ढुवानी र ग्राहक सोधपुछ प्रणालीहरू पूर्ण रूपमा अवरुद्ध पारेको हो ।
असाही ग्रूपले आक्रमणको पुष्टि गर्दै प्रणाली पुनर्स्थापनाका लागि काम गरिरहेको बताए पनि सामान्य सञ्चालन कहिले सुरु हुनेछ भन्नेबारे अनिश्चितता व्यक्त गरेको छ । यो अनिश्चितताले जापानी बजारमा असाहीका उत्पादनहरूको व्यापक अभाव सिर्जना गरेको छ । कम्पनीका अनुसार, बियर, पेय पदार्थ र खाद्यान्न उत्पादन गर्ने करिब ३० वटा कारखानामध्ये धेरैजसोमा उत्पादन र ढुवानी रोकिएको थियो ।
यद्यपि, सोमबारसम्म १५ वटा कारखानाले आंशिक उत्पादन सुरु गरेका छन् । असाहीको बियर सहायक कम्पनीले आफ्नो मुख्य उत्पादन ‘सुपर ड्राई’ ब्रान्डका छवटा उत्पादनको आंशिक ढुवानी सुरु गरेको छ । साथै, अक्टोबर १५ देखि १६ वटा व्हिस्की र बियरजस्ता पेय पदार्थहरूको आंशिक ढुवानी पुनः सुरु गर्ने घोषणा गरिएको छ ।
साइबर आक्रमणका कारण सेभेन-इलेभेन, फ्यामिलीमार्ट र लसनजस्ता जापानका प्रमुख खुद्रा विक्रेताहरूले असाहीका उत्पादनहरूको आपूर्तिमा कमी आउने वा अभाव हुने चेतावनी ग्राहकहरूलाई दिएका छन् । फ्यामिलीमार्टले एक विज्ञप्ति जारी गर्दै असाहीले तत्काल अर्डर लिन र उत्पादनहरू पठाउने कार्य निलम्बित गरेको र तत्काल पुनः सुरु हुने सम्भावना नदेखिएको बताएको छ । यसले गर्दा फेमिमारु ब्रान्डका बोतल चियाहरूको आपूर्तिमा समेत कमी आएको छ ।
यस संकटको असर असाहीका प्रतिस्पर्धीहरू किरीन होल्डिङ्स, सन्तोरि होल्डिङ्स र साप्पोरो होल्डिङ्समा समेत परेको छ । असाहीका ग्राहकहरूले आफ्ना उत्पादनहरू खरिद गर्न थालेपछि यी तीन प्रमुख बियर उत्पादक कम्पनीहरूले रेस्टुरेन्ट र बारहरूबाट अत्यधिक अर्डर पाएका छन् । यसको फलस्वरूप, उनीहरूले पनि रेस्टुरेन्टहरूका लागि बियरजस्ता केही उत्पादनहरूको ढुवानी समायोजन गर्न थालेका छन् ।
असाहीले हालसम्म ग्राहकका व्यक्तिगत जानकारी चुहावट भएको कुनै पुष्टि नभएको बताएको छ । कम्पनीले घटनाको कारणबारे सक्रिय अनुसन्धान भइरहेको र पूर्ववत् अवस्थामा सञ्चालन गर्न हरसम्भव प्रयास गरिरहेको जनाएको छ । यद्यपि, पुनः सञ्चालनमा आउन लाग्ने समयको अनुमान गर्न नसकिने कुराले कम्पनी र यसका ग्राहकहरू दुवैमा चिन्ता बढाएको छ ।
असाही जापानको सबैभन्दा ठूलो बिअर उत्पादक कम्पनी हो र यसको विश्वव्यापी बजारमा पनि महत्त्वपूर्ण उपस्थिति छ । यसको कुल बिक्रीको लगभग आधा हिस्सा जापानबाट आउँछ । यस साइबर आक्रमणले जापानी पेय पदार्थ बजारमा ठूलो हलचल ल्याएको छ र आपूर्ति शृङ्खलाको सुरक्षाबारे नयाँ बहस सुरु गरेको छ ।








