Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

टोकियो – जापानले विदेशी चालक अनुमतिपत्रलाई जापानी अनुमतिपत्रमा रूपान्तरण गर्ने नियमहरूमा कडाइ गरेको छ । बुधबारदेखि लागू भएका नयाँ नियमहरूअनुसार अब विदेशी पर्यटक र छोटो समयका लागि जापानमा बस्ने आगन्तुकहरूले आफ्नो विदेशी लाइसेन्सलाई जापानी लाइसेन्समा रूपान्तरण गर्न पाउने छैनन् ।

नयाँ नियमअनुसार, आवेदहरूले आफ्नो निवास प्रमाणपत्रको प्रतिलिपि देखाएर जापानको आवासीय प्रमाण पेस गर्नुपर्नेछ, जुन नियम सबै राष्ट्रियताका व्यक्तिहरूका लागि अनिवार्य गरिएको छ । यसअघि, विदेशी पर्यटकहरूले होटल वा अस्थायी आवासलाई पनि आफ्नो ठेगानाको रूपमा प्रयोग गर्न सक्थे ।

यसका साथै, ट्राफिक नियमसम्बन्धी लिखित परीक्षामा पनि परिवर्तन गरिएको छ । पहिले १० वटा प्रश्न सोधिनेमा अब ५० वटा प्रश्न सोधिनेछ र आवेदकले ९० प्रतिशत अंक ल्याउनुपर्नेछ । राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार, सन् २०२४ मा ६८ हजार ६ सयभन्दा बढी विदेशीहरूले यस प्रणालीमार्फत जापानी लाइसेन्स प्राप्त गरेका थिए, जुन एक कीर्तिमानी संख्या हो ।

यसअघिको प्रणालीमा विदेशी लाइसेन्स भएका जो कोहीले पनि जापानमा गाडी चलाउन सक्ने ज्ञान र सीप प्रमाणित गरेपछि जापानी लाइसेन्स प्राप्त गर्न सक्थे । तर, अस्थायी ठेगानाका कारण ट्राफिक दुर्घटनाहरूमा कानून कार्यान्वयनमा कठिनाइ हुन सक्ने र पहिलेको परीक्षा जापानी ट्राफिक नियमहरू पूर्ण रूपमा बुझ्नका लागि पर्याप्त नभएको भन्दै चिन्ताहरू व्यक्त गरिएका थिए ।

अधिकारीहरूले नयाँ नियमहरूबारे जानकारी गराउन कदम चाल्ने र जापानभरि सडक दुर्घटनाहरू रोक्नका लागि काम जारी राख्ने बताएका छन् ।

 
 

तपाईको प्रतिक्रिया