समाचार सुन्नुहोस :
काठमाडौँ – दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदैछ। घटस्थापना पछि देवीका नौ रूपहरूको पूजा गर्ने परम्परा अनुसार आज चन्द्रघण्टा देवीलाई आराधना गरिन्छ। विशेषगरी गीत–संगीत क्षेत्रमा संलग्न व्यक्तिहरूले आज चन्द्रघण्टाको विशेष पूजा गर्ने चलन छ।
दशैं सुरु भएयता राजधानीका विभिन्न देवी मन्दिरमा भक्तजनहरूको भीड लागिरहेको छ। आज पनि गुह्येश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, इन्द्रायणी लगायतका मन्दिरमा पूजा–आराधना गर्नेहरूको चहलपहल बढेको छ।
उपत्यका बाहिर पनि धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी लगायतका शक्तिपीठमा भक्तजनको घुइँचो देखिन्छ।
नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिन्छ। त्यसपछि चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीलाई पूजा गर्ने परम्परा छ।
पार्वतीको सौन्दर्य अवतार मानिने चन्द्रघण्टा देवीको पूजा गर्दा साधकमा वीरता, निर्भयता, सौम्यता र विनम्रता बढ्ने धार्मिक विश्वास छ। देवीको शिरमा अर्धचन्द्रको आभूषण हुने र त्यो घण्टाजस्तो देखिने भएकाले उनलाई चन्द्रघण्टा भनिएको उल्लेख धर्मग्रन्थमा पाइन्छ। श्रीमद्देवीभागवत लगायतका शास्त्रअनुसार, उनले अमानवीय र आसुरी प्रवृत्ति नाश गरी सज्जनको रक्षा गर्ने विश्वास गरिन्छ।








