टोकियो – जापानको यामागाता प्रान्तको सुरुओका सहर यस महिनादेखि लागू भएको संशोधित कानुनअन्तर्गत वस्ती क्षेत्रमा भालुलाई गोली हान्ने अनुमति दिने पहिलो नगरपालिका बनेको छ ।
शनिबार बिहान करिब १० बजे सुरुओका सहरको पूर्वी जापान रेलवेको सुरुओका स्टेसन नजिकैको सहरी इलाकामा भालु देखिएको खबर प्राप्त भएपछि नगर अधिकारीहरू सतर्क भएका थिए । एक घण्टापछि, उक्त भालु एउटा घरको बगैँचामा रुखमुनि सुतिरहेको अवस्थामा फेला परेको थियो ।
दिउँसो १२ बजेपछि, तीनजना नगर अधिकारीहरूले घटनास्थलमा प्रहरीसँग परामर्श गरे। उनीहरूले शिकार राइफल प्रयोगका लागि आवश्यक शर्तहरू पूरा भएको निष्कर्ष निकाले, जसमा स्थानीय बासिन्दा र अन्यको सुरक्षाका उपायहरू पनि समावेश थिए । घटनास्थलमा रहेका अधिकारीहरूबाट प्रतिवेदन प्राप्त गरेपछि, सहरका मेयरले दिउँसो १२ बजेर २० मिनेटमा भालुविरुद्ध बन्दुक प्रयोगको अनुमति दिएका थिए ।
जापानको वातावरण मन्त्रालयका अनुसार, सेप्टेम्बर १ मा संशोधित कानुन लागू भएयता शिकार राइफल प्रयोगका लागि नगरपालिकाले दिएको यो पहिलो अनुमति हो । तर, वास्तविक गोलीकाण्ड भने विद्यमान प्रहरी कर्तव्य कार्यान्वयन ऐनअन्तर्गत भएको थियो । भालु ब्युँझिएर अधिकारीहरूतर्फ आउन थालेपछि प्रहरीले त्यसलाई मार्न आदेश दिएको थियो । त्यसबेलासम्म मेयरको अनुमति आइसकेको थिएन ।
सुरुओका सहरका अधिकारीहरूले उक्त घटना सप्ताहन्तमा परेकाले बासिन्दाहरूलाई सचेत गराउन कम कर्मचारी उपलब्ध भएको र घटनास्थल पुग्न बढी समय लागेको बताएका छन् । उनीहरूले यस्ता घटनामा नयाँ कानुनी ढाँचालाई अझ राम्रोसँग प्रयोग गर्न प्रहरीसँग सूचना आदानप्रदान र बन्दुक प्रयोगका लागि पूर्वतयारीको आवश्यकता औंल्याएका छन् ।
सहरका अधिकारीहरूले एनएचकेलाई बताएअनुसार, मेयरको अनुमति शान्तपूर्वक अनुरोध गर्न सफल भए पनि, अभूतपूर्व निर्णयहरू लिनुपरेको थियो । उनीहरूले यस घटनाबाट सिकेका पाठहरूको विश्लेषण गरी एक कार्यविधि (म्यानुअल) तयार पार्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।








