समाचार सुन्नुहोस :
काठमाडौँ – नक्खु कारागारले भदौ २४ गतेको घटनामा फरार भएका सबै कैदी बन्दीलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको छ। बिहीबार जारी विज्ञप्तिमा कारागार प्रशासनले फरार थुनुवा र कैदीहरूलाई कानुनअनुसार उपस्थित भई प्रक्रिया पूरा गर्न अपिल गरेको छ। विज्ञप्तिमा भनिएको छ, “भदौ २४ गते नक्खु कारागारबाट फरार भएका सम्पूर्ण कैदी बन्दीहरूलाई तत्काल सम्पर्कमा आइ कानुनी प्रक्रिया पालना गर्न हार्दिक अनुरोध गर्दछौं।”
प्रशासनले फरार भइरहे कानुनले तोकेको सजाय अझै कडाइका साथ लागू हुने चेतावनी दिएको छ। साथै, यसले भविष्यमा पाउन सकिने कानुनी अधिकार, सुविधा र सामाजिक पुनःस्थापना प्रक्रियामा पनि नकारात्मक असर पर्न सक्ने उल्लेख छ। सूचनामा फरार भएकाहरूलाई विधि र कानुनको सम्मान गर्दै तुरुन्त आत्मसमर्पण गर्न आग्रह गरिएको छ। साथै, सार्वजनिक शान्ति र सुव्यवस्था कायम राख्न सबैले सहयोग गर्न अपिल गरिएको छ।
उक्त घटनाका क्रममा सहकारी रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ठूलो संख्यामा समर्थक कारागार पुग्दा सुरक्षा चुनौती देखिएपछि प्रशासनले छाडेको थियो। लामिछानेपछि अन्य कैदी बन्दी पनि निस्किए र त्यसपछि देशभर करिब १६ हजार कैदी बन्दी फरार भएका थिए।








