समाचार सुन्नुहोस :
काठमाडौँ – रामेछापको जिल्ला कारागारमा कैदीबन्दीहरू भाग्न खोज्दा नेपाली सेनाले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। बिहीबार बिहान कैदीहरूले सामूहिक रूपमा कारागारको मुख्य गेट तोडेर बाहिर निस्कन खोजेपछि सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरेका थिए। नेपाली सेनाका अनुसार, कैदीहरूले जबरजस्ती ताला तोडेर भाग्न खोजेपछि अवस्था नियन्त्रणमा लिन गोली चलाउनु परेको हो।
गोली लागेर तीन कैदीको घटनास्थलमै मृत्यु भएको छ। घाइते १५ जनालाई तत्कालै रामेछाप अस्पतालमा उपचारका लागि पठाइएको छ। घटनापछि कारागार वरिपरि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले कडाइका साथ सुरक्षा व्यवस्था गरेको छ। हाल अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
रामेछाप नगरपालिका–८, रामेछाप बजारस्थित सो कारागारमा ५० जनाको क्षमता भए पनि हाल करिब ३०० जना कैदी विभिन्न अपराधमा सजाय काटिरहेका छन्।








