समाचार सुन्नुहोस :
काठमाडौँ – जेन–जी पुस्ताले देशव्यापी रूपमा गरेको प्रदर्शनका कारण शिक्षा, स्वास्थ्य, अर्थतन्त्रदेखि सामाजिक जीवनसम्म प्रभावित भएको छ। विशेषगरी काठमाडौंमा भएको प्रदर्शनपछि घाइतेको संख्या बढेपछि अस्पतालहरूले चाप झेलिरहेका छन्। मीनभवनस्थित सिभिल अस्पतालले अत्यधिक बिरामीको दबाबका कारण आकस्मिक बाहेकका सेवा बन्द गरेको छ। अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार चिकित्सक र नर्सहरू ‘डबल ड्युटी’मा खटिएका छन्। अहिले त्यहाँ ४६ जनाको उपचार भइरहेको छ।
त्रिवि शिक्षण अस्पतालमा पनि ५३ जना घाइते उपचाररत छन्। निर्देशक डा. सुवास आचार्यले ‘ओपिडी’ सेवा चलिरहेको तर बिरामीलाई अस्पतालसम्म आउन कठिन भएको बताए। आकस्मिक सेवामा भने उच्च चाप छ। राष्ट्रिय ट्रमा सेन्टरमा ४० जना घाइतेको उपचार भइरहेको छ। चार जनालाई शल्यक्रियापछि ‘आइसीयु’मा राखिएको छ। स्रोतसाधनको कमी र स्वास्थ्यकर्मी अभाव भए पनि सेवा नरोकेको अस्पतालका निर्देशक डा. बद्री रिजालले बताए।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले भने नियमित ‘ओपिडी’ र आकस्मिक सेवा सञ्चालन गरिरहेको छ। शुल्क लिएर दिने सेवा भने रोकिएको छ। अस्पतालहरूका अनुसार स्थिति सामान्य हुन केही समय लाग्ने देखिएको छ।








