टोकियो – सन्तोरी होल्डिङ्स लिमिटेडका अध्यक्ष ताकेशी निनामीले आफूले खरिद गरेको भनिएको पूरक आहारबारे चलिरहेको छानबिनका कारण पदबाट राजीनामा दिएका छन् । जापानको प्रमुख मदिरा उत्पादक कम्पनीले मंगलबार यो जानकारी गराएको हो ।
६६ वर्षीय निनामी जापानका एक प्रतिष्ठित व्यावसायिक व्यक्तित्व हुन् । उनले जापान एसोसिएसन अफ कर्पोरेट एक्जिक्युटिभ्सको अध्यक्षको रूपमा पनि सेवा गरिरहेका छन् र सरकारको आर्थिक तथा वित्तीय नीति परिषद्का सदस्य पनि हुन् ।
सन्तोरी होल्डिङ्सका अध्यक्ष नोबुहिरो टोरीले निनामीको राजीनामाप्रति माफी मागेका छन्, जुन सोमबारदेखि लागू भएको छ । कम्पनीले निनामीको आचरण अध्यक्ष पदका लागि अनुपयुक्त भएको र ;छानबिनको अन्त्यसम्म पर्खनुपर्ने आवश्यकता नरहेको’ बताएको छ ।
कम्पनीका अनुसार निनामीले आफूले खरिद गरेको पूरक आहार वैध भएको विश्वासका साथ खरिद गरेको दाबी गरेका छन् । सन्तोरीका कार्यकारी उपाध्यक्ष केन्जी यामाडाले टोरीसमेत उपस्थित रहेको पत्रकार सम्मेलनमा भने कि निनामीले सोमबार विदेशबाट फर्किएपछि ‘व्यक्तिगत कारण’ देखाई राजीनामाको प्रस्ताव गरेका थिए ।
कम्पनीले सन्तोरीको सञ्चालक समितिले सर्वसम्मतिले निनामीको राजीनामा स्वीकृत गरेको बताएको छ ।








